बालकोटका युवकको हत्या आरोपमा मुख्य योजनाकारसहित दुई पक्राउ

भक्तपुर, मंसिर २२
भक्तपुर बालकोटका युवक राजन श्रेष्ठको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुख्य योजनाकार मानिएका सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २८ वर्षिय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ–२ का ३० वर्षिय प्रेम विक हुन ।
प्रहरी स्रोतका अनुसार आर्थिक लेनदेन सम्बन्धी विषयमा विवाद हुँदा हेमन्त र प्रेमले कुटपिट गरी हत्या गरेको खुल्न आएको छ । ‘मृतक राजन जग्गा व्यवसायी हुन । उनीहरुबीच आर्थिक लेनदेनको विवाद देखियो,’ प्रहरी स्रोतले भने ।
स्रोतका अनुसार हेमन्तले फोन गरी बोलाएपछि मंगलवार राती ९ बजे घरमै रहेका राजन मध्यपुर थिमि–३ गठ्ठाघर पुगेका थिए । राजनको गाडी गठ्ठाघरमा राखी उनीहरु मोटरसाइकलमा बालकोट पुगेर आर्थिक लेनदेनको विषयमा छलफल भएको देखिन्छ । त्यही विवाद हुँदा हेमन्त र प्रेमले चिर्पट, फलामको रडलगायतले अनुहारमा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरी स्रोतले बताए ।
पक्राउ परेका दुवै जनालाई महानगरिय प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तले महानगरिय प्रहरी वृत्त थिमि पुगेर घटनाको निष्पक्ष छानविन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन । घटनामा पक्राउ परेका दुई जना आरोपी बाहेक अन्य पनि संलग्न हुन सक्ने आशंका व्यक्त गर्दै उनीहरुले अनुसन्धानको दायरा फराकिलो बनाउन माग समेत गरेका छन । घटनास्थल वरपर एक सय मिटरको दुरीमा समेत विभिन्न ठाउँमा रगतको टाटा देखिएको भन्दै आफन्तले घटनामा अन्य व्यक्तिहरुको समेत संलग्न भएको दावी गरेका हुन ।
मृतकका आफन्तले घटनास्थलदेखी केही मिटरको दुरीमा रहेको एक घरको कम्पाउण्डभित्र विभिन्न स्थानमा रगतको टाटा देखिएकोले सो घर र घरमा बस्नेहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन । स्थानीयका अनुसार सो घरको फलामको रेलिङ बार, तुलसीको मठ लगायतका स्थानमा रगतको टाटा देखिएको थियो ।
प्रहरीले ती रगत मृतकको हो वा होइन भनी फरेन्सीक जाँचको लागि पठाएको र त्यसको रिपोर्ट आएपछि मात्र यकिनका साथ भन्न सकिने जनाएको छ ।