राष्ट्रपति भण्डारीद्धारा नवदुर्गा देवीको दर्शन तथा प्रसाद ग्रहण

भक्तपुर, कार्तिक ३
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको कोजाग्रत पुर्णिमाको अवसरमा बुधवार साँझ भक्तपुर नगरपालिका–१०, गँछेंस्थित नवदुर्गा द्यछें पुगेर नवदुर्गा देवगणको दर्शन तथा प्रसाद ग्रहण गर्नुभएको छ ।
अपरान्ह सवा ४ बजे नवदुर्गा द्यछें पुगेका राष्ट्रपति भण्डारीलाई भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत, जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका प्रमुख तथा उपप्रमुख, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति लगायतले स्वागत गर्नुभएको थियो ।


राष्ट्रपति भण्डारीले नवदुर्गाका मुलपुजारीका छोरा जुजुभाई कर्माचार्यले जल अभिषेक गरी लसकुस (स्वागत) गरेर द्यछें प्रवेश गराउनुभएको थियो । द्यछें भित्र प्रवेश गरेपछि राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणको पुजा गर्नुका साथै दर्शन गर्नुभएको थियो । उहाँलाई देवगणका नाईके ब्रिजेश बनमालाले नवदुर्गाको प्रसाद स्वरुप बिमिरो, फुल र पासुका (पञ्चरंगी धागो) दिनुभयो ।
प्रसाद ग्रहण गरिसकेपछि राष्ट्रपति भण्डारी देवगणलाई दक्षिणा प्रदान गर्नुभयो । उहाँले देवगणका सबै सदस्यलाई पालैपालो दर्शन गरी दक्षिणा दिनुभएको थियो । सो अवसरमा देवगणका सदस्य बालकृष्ण बनमालाले वि. सं. २०७६ सालमा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणको द्य ब्वोकेगु (देवता प्रदर्शन) गरेको बेलाको खर्च हालसम्म नपाएको गुनासो गर्नुभयो ।


उहाँले राष्ट्रपति भण्डारी समक्ष भननुभयो, “वि. सं. २०७६ सालमा द्य ब्वोकेगु कार्यक्रममा खर्च भएको एक लाख ३४ हजार मध्ये जम्मा ८५ हजार प्राप्त भयो । बाँकी रकम अहिलेसम्म पाउन सकेका छैंनौं । सो रकम पाउनको लागि जिल्ला प्रशासन, सूर्यविनायक नगरपालिकालगायत धेरै ठाउँमा अनुरोध गरे तर पनि पाउन सकिएन । सो रकम पाए आभारी हुने थिएँ ।” राष्ट्रपति भण्डारी सो बारेमा के भएको बुझेर जानकारी गराउने र तत्काल रकम पाउने व्यवस्था गर्ने आश्वासन दिनुभयो ।
राष्ट्रपति भण्डारीले द्यछेंबाट बाहिर निस्कनेक्रममा उपस्थित जनसमूदायलाई अभिभादन गर्नुभएको थियो । स्थानीयले पनि तालीले राष्ट्रपति भण्डारीको स्वागत गरेका थिए ।


राष्ट्रपति भण्डारीलाई द्यछें प्रांगणमा तलेजुका मुल नाईके नरेन्द्र जोशीले तलेजुको प्रसाद प्रदान गर्नुभयो । त्यस्तै जिससकातर्फबाट संयोजक गेलालले राष्ट्रपति भण्डारीले मायाको चिनोस्वरुप गणेशको मुर्ती उपहार दिनुभयो । राष्ट्रपति भण्डारीले करिव २० मिनेट नवदुर्गा द्यछें परिसरमा बिताउनुभएको थियो ।
कोजाग्रत पुर्णिमाको दिन नवदुर्गाको दर्शन गरी प्रसाद ग्रहण गर्ने प्रचलन स्व. राजा विरेन्द्रले चलाएका थिए । उनले २०४५ सालको कोजाग्रत पुर्णिमाको दिन नवदुर्गाको दर्शन गरेर यसलाई वर्षेनी निरन्तरता दिएका थिए । उनको निधनपछि राजा भएका ज्ञानेन्द्र, वि. सं. २०६३ सालको परिवर्तनपछि राष्ट्रप्रमुखको समेत भूमिकामा रहेका तत्कालिन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला, नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समेत यो प्रचलनलाई निरन्तरता दिनुभएको थियो ।