श्रद्धालु भक्तजनको ठूलो भिडसहित ब्रम्हायणी शक्तिपीठमा  मेला सम्पन्न

भक्तपुर, असोज २८
बडादसैंको दशौं दिन विजयदशमीको अवसरमा शुक्रबार भक्तपुरको प्रसिद्ध ब्रम्हायणी शक्तिपीठमा श्रद्धालु भक्तजनको ठूलो भिडसहित मेला सम्पन्न भएको छ । धार्मिक तथा सा“स्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने भक्तपुरको ब्रम्हायणी शक्तिपीठको दर्शन र पुजाका लागि प्रत्येक वर्ष बडादसैका दिन भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।
भक्तपुरको पहिचानकोरुपमा रहेको प्रसिद्ध नवदुर्गा देवगणले विजयादशमीको राती सिद्ध प्राप्ती गर्दछन । महानवमीको दिन साँझ नवदुर्गा देवघरबाट कुदाउँदैं ब्रम्हायणी पुर्याएको महिषासुरको प्रतिक खँमेयको बली दिएर नवदुर्गा देवगणले सिद्ध प्राप्त गरी नवदुर्गा देवी प्रकट हुने विश्वास रहेको छ । सोही देवगणको दर्शनका लागि पनि विजयादशमीको दिन ब्रम्हायणीमा श्रद्धालु भक्तजनहरुको ठूलो भिड लाग्ने गर्दछ ।


बडादसैका दिन ब्रम्हायणी र नवदुर्गा देवगणको पुजा र दर्शन गर्नाले सुख, शान्ति, र सम्वृद्धि मिल्छ भन्ने धार्मिक मान्यता छ । सोही कारण विजयादशमीको दिन बिहान घरघरमा नवदुर्गा देवी प्रसाद ग्रहण गरी सर्वसाधरणहरु ब्रम्हायणीको दर्शनका लागि पुग्ने गर्दछन ।
शुक्रवार बिहान सबेरैदेखी ब्रम्हायणीमा भक्तजनको भिड लागेको थियो । सुख, शान्ति, र मनोकांक्षा पुराहोस् भन्ने उद्देश्यले भक्तजनहरु आफ्नो घरदेखि ब्रम्हायणीसम्म घस्रेर पुगेका थिए । कोहीले टाउको, हात र शरीरभरी दियो बालेर ब्रम्हायणीको प्रार्थना गरेका थिए । भक्तपुरको टोल टोलमा रहेका परम्परागत धिमेवाजा, बाँसुरी बाजा, धा“ बाजा, नौबाजाका टोलीहरुले दिनभरी जस्तो ब्रम्हायणी पुगेर दर्शन गरेका थिए । साथै भक्तपुरको एकान्त कुमारीले समेत ब्रम्हायणी शक्ति पिठ र नवदुर्गा देवगणको दर्शन गरेका थिए ।
तस्विर – लक्ष्मी गारु