राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई ५० हजार जरिवाना

भक्तपुर, असोज १४
मध्यपुर थिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५० हजार जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा बिहिवार बजार अनुगमन गर्ने क्रममा भाटभटेनीले खरिद बिलविजक साथमा नराखेको, तरकारीका प्याकेटका तौल उल्लेख नगरेको र केही वस्तुमा अस्वाभाविक मुनाफा राखेर बिक्रि वितरण गरेको पाईएपछि सो जरिवाना गरेको हो ।
अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तु चिनीमा कालोबजारी गरेको पाईएको थियो । कालो बजारी सम्बन्धी ऐनले खरिद मूल्यको २० प्रतिशत भन्दा बढी नाफा लिएर वस्तु बिक्रि वितरण गरेको पाईए कालोबजारी गरेको ठहर्ने व्यवस्था गरेको छ । भाटभेटेनीले चिनीमा २५ प्रतिशत नाफा राखेर बिक्रि वितरण गरीरहेको अनुगमनका क्रममा पाईएको सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताउनुभयो ।


भाटभटेनीले ७१ रुपैंया ५० पैसामा खरिद गरेको चिनी ८९ रुपैंया बिक्रि वितरण गरेर उपभोक्तालाई ठगी गरेको पाईएको हो । त्यस्तै बोटलको पानी २६ रुपैंयामा खरिद गरेर ४५ रुपैंयामा बिक्रि वितरण गरिरहेको पाईएको थियो ।
अनुगमनका क्रममा ग्राहक अफरका नाममा बिस्कुटका प्याकेट टुटेको फुटेको समेत बिक्रिका लागि राखिएको पाईएको थियो । भाटभेटेनीले एक किन्दा अर्को सितैमा अफर राखेर बिक्रिका लागि राखिएका बिस्कुटका प्याकेट टुटेको र फुेटेको पाईएको हो ।


त्यसैगरी भाटभटेनीले तरकारी र फलफुलमा समेत उपभोक्तालाई ठगी गरेको पाईएको थियो । तरकारीका प्याकेटमा मुल्य राखेपनि तौल नराखेर प्रति केजी मूल्य कति हो ? उपभोक्तालाई जानकारी नदिएर बिक्रि गरेको पाईएको हो ।
अनुगमनका क्रममा भोटभेटेनीलाई वस्तुको खरिद बिल बिजक नपाईएको, उपभोग्य मिति नाघेका वस्तु र उपभोग योग्य वस्तू एउटै स्थानमा भण्डार गरेको, बिस्कुटका प्याकेटमा अंकित मुल्य भन्दा दोब्बर मुल्यमा बिक्रि वितरण गरेको पाईएको थियो ।


त्यसैगरी भाटभेटेनीको प्रांगणमा रहेको केएफसी चिकेन र पिजा अटमा अनुगमन गर्दा स्थानीय नगरपालिकामा व्यवसाय दर्ता नगरेको पाईएको थियो ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी केसरी नेतृत्वको अनुगमन टोलीमा वाणिज्य, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासंघ, मध्यपुर थिमि नगरपालिका, नेपाल पत्रकार महासंघ भक्तपुरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।