लागु औषध कारोवारीमा संलग्न एक महिलासहित ६ जना पक्राउ

भक्तपुर, असोज ९
भक्तपुर प्रहरीले लागु औषध ओसारपसार, खरिद बिक्रि र वितरण गर्ने विभिन्न पाँच तहका कारोवारीलाई पक्राउ गर्न सफल भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले गत साउन १७ गतेदेखी अनुसन्धानका क्रममा लागु औषधका कारोवारीका विभिन्न पाँच तहका एक महिला सहित ६ जनालाई पक्राउ गर्न सफल भएको हो ।
घटना विवरण अनुसार गत साउन १७ गते दिउँसो भक्तपुर नगरपालिका–५ क्वाछेंमा सवारी जाँचका क्रममा भक्तपुर–६ बोलाछें बस्ने २१ वर्षिय राजेश शाहीले हाँकेको बागमती प्रदेश ०२–०१६ प ०१२६ नम्बरको मोटरसाईकलमा सवार १९ वर्षिया सरिता शाहीले बोकेको प्लाष्टिकको झोलाभित्र निलो रंगको तीन वटा प्लाष्टिकको पोकामा २८५ एम्पुल लागु औषध फेला परेको थियो ।
सो घटनाको अनसन्धान गर्ने क्रममा प्रहरीले शाहीलाई लागु औषध बिक्रि गर्ने धादिङ बेनिघाट गाउँपालिका–३ घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ–७, हात्तिगौडा बस्ने ३९ वर्षिय केशब क्षेत्रीलाई भक्तपुरको सूर्यविनायकचोकबाट २४३ एम्पुल लागु औषधसहितलाई पक्राउ गरिएको परिसरले जानकारी दिए । क्षेत्रीले शाहीलाई लागु औषध बिक्रि गरेको खुल्न आएको थियो ।
सो घटनाको थप अनुसन्धान गर्ने क्रममा गत साउन २० गते भारतबाट लागु औषध ल्याउने विशाल यादव भन्ने राम विश्वास रायलाई पक्राउ गर्न सफल भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो । सर्लाही साविक महिनाथपुर गा.वि.स. वडा नं. ०९ हाल परिवर्तित धनकौल गाउँपालिका–४ महिनाथपुर बस्ने बर्ष २८ वर्षिय यादवले भारतबाट लागु औषध ल्याई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानमा बिक्रि वितरण गर्ने गरेको प्रनाउ गिरीले बताउनुभयो ।
त्यसैगरी उपत्यकामा लागु औषधको कारोवार गर्ने सर्लाही हरकठवा गा.वि.स. वडा नं. ३ हाल परिवर्तित धनकौल गाउँपालिका–३, हरकठवा बस्ने २६ वर्षिय अलि महम्मद भन्ने मोहमद शेष इन्ताजलाई भदौ २२ गते काठमाण्डौं कोटेश्वरस्थित विश्राम गेष्ट हाउसबाट पक्राउ गरिएको प्रनाउ गिरीले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा इन्ताजले राम विश्वास राय यादव र रविन देउलासमेतलाई लागु औषध बिक्री वितरण गर्ने गरेको खुल्न आएपछि ललितपुर उपमहानगरपालिका१२ थती स्थायी घर भई हाल ललितपुर महानगरपालिका २८ हरिसिद्धि बस्ने २९ वर्षिय देउलालाई भदौ २९ गते पक्राउ गरिएको प्रनाउ गिरीले बताउनुभयो ।
देउलालाई ललितपुर हरिसिद्धिमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेकाहरुको साथबाट नोफिन ६७६ थान, डाइजेपाम ६७६ थान, फेनरगन ५८१ थान, नाइट्राभेट– १० (१८०० थान ट्याब्लेट), प्रोमेथाजिन ९५ थान, मोटरसाइल एक थान, मोवाईल ९ थान, सिमकार्ड १३ र नगद ४६ हजार बरामद गरिएको परिसरले जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।