सभामुखले संसदमा गुरिल्ला शैली अपनाए – नेता बस्नेत

भक्तपुर, भाद्र १४
नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेका १४ सांसदलाई कारवाही नगर्नु संसदीय व्यवस्थाकै उपहास भएको बताउनुभएको छ । रफत सञ्चार क्लबमा सोमवार आयोजित साक्षात्कार कार्यक्रममा नेता बस्नेतले सभामुख अग्नीप्रसाद सापकोटाले गुरिल्ला शैली अपनाएको आरोप समेत लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘विगतको गुरिल्ला शैलीमा छुट्टै सरकार र संसद झल्को दिने गरी विभिन्न जाल झेल गरेर सभामुखले एमालेका १४ सांसदलाई कारवाही नगर्ने निर्णय गरेको छ । यो संसदीय व्यवस्था विपरित हो ।’
बस्नेतले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको केहि पक्ष नेपालको राजनीतिलाई अस्थितरता तर्फ धकेल्ने प्रयासमा लागेको अवस्थामा सभामुख सापकोटाले गरेको निर्णय उनीहरुको पक्षपोषणमा रहेको र नेपाली राजनीति र संबिधानको सवालमा गलत नजिर बसालेको बताउनुभयो ।
उहाँले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकारमा सामेल दलहरुले संबिधान भन्दा माथि गएर काम गरेको छ । अध्यादेशबाटै संसदलाई निरन्तरा दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रीत भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण हो ।’
बस्नेतले नेपाली राजनीतिमा च्याँखे दाउ थाप्न माहिर प्रचण्डले कांग्रेससँग सहकार्य गरी आफ्नो छोरीलाई मेयर बनाएको र २०७४ को निर्वाचनमा एमालेसँग च्याँखे थापेको बताउँदै आगामी निर्वाचनमा महागठबन्धनको नाममा नयाँ च्याँखे थाप्न लागेको आरोप पनि लगाउनुभयो ।
उहाँले माधव नेपालको दल नेकपा एकिकृत समाजवादीको कुनै औचित्य नभएको र आलोपालो मन्त्री खानलाई खोलेको दल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान माधब नेपालको नेकपा एकिकृत समाजवादी दल गठनको कुनै औचित्य छैन । शुरुवातमै मन्त्री पालैपालो खाने खेलबाट प्रष्ट भएको छ ।’
वर्तमान सरकारले पूर्णता पाउन नसक्नुको पछाडीको रहस्य टाउकोले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले टाउको हल्लाएको भन्दै नेता बस्नेतले व्यंग्य समेत गर्नुभयो । उहाँले अबको राजनीतिक निकास तीनै तहको तत्काल निर्वाचन गर्नुरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरि मितब्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम विकल्प रहेको छ ।’
उहाँले संबिधानको मिचेर अनेका खालका अध्यादेश ल्याएर निर्वाचनलाई पछि धकेल्दै संसदमा र सांसद बीच फोहोरी खेल खेल्दै एमालेलाई कमजोर बनाउने सपना नदेख्न चेतावनी दिँदैं निर्वाचनमा उत्रन चुनौती समेत दिनुभयो ।