कोरोनाको कारण बोडेको द्यो प्याखँ प्रदर्शन नहुने

भक्तपुर, भाद्र ४
मध्यपुर थिमि वडा नं. ८ र ९ बोडेमा गाईजात्राको भोलीपल्टदेखी शुरु हुने धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको द्यो प्याखँ (निलबाराही गणनाच) यसवर्ष प्रदर्शन नहुने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यसवर्ष द्यो प्याखँ प्रदर्शन नहुने ८ नं. वडा कार्यालयले जानकारी दिएको हो ।
वडाका प्रमुख प्रशासकिय प्रमुख ई. रविन्द्र श्रेष्ठले शुक्रवार एक सूचना जारी गर्दै भिडभाड नहुने गरी विधि मात्र पुर्याई द्यो प्याखँ सम्पन्न गर्ने जानकारी दिनुभयो । सूचनामा कोरोना भाइरस (कोभिड –१९)को संक्रमण तीब्र रुपमा बढीरहेको कारणले द्यो प्याखँ प्रदर्शन नगर्ने र कुनै पनि पुजाआजा नगर्ने नगराउने उल्लेख गरिएको छ ।
भक्तपुरका चार स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सबै भन्दा धेरै कोरोना प्रभावित स्थानीय तह हो । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मध्यपुर थिमिमा हिजो (बिहिवार) साँझसम्म ८ हजार ६०९ जना कोरोना संक्रमित भइसकेको छन भने यहाँ ६८ पुरुष र ३४ महिला गरी १०२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेको छ ।
मध्यपुर थिमिमा २३६ पुरुष र २१० महिला गरी ४४६ जना सक्रिय संक्रमित छन । ती मध्ये १३ पुरुष र २० महिला गरी ३३ जना अस्पतालमा उपचाररत छन । सक्रिय संक्रमित मध्ये ४१३ जना होम आइसोलेसनमा छन ।