भक्तपुरको नवदुर्गा द्योछेंमा महिसासुर भित्रियो

भक्तपुर, साउन २९
गत साउन २२ गते विवादले झडपको रुप लिँदा कोलाहलमय बनेको भक्तपुर क्वाछेंस्थित नवदुर्गा द्योछें (देवता घर) परिसरको माहोल बिहिवार साँझ हर्षोल्लासमय बनेको थियो । देवगणमा खुसीयाली छाएको थियो, कारण द्योछेंमा महिसासुरको प्रवेश हुँदैं थियो ।
नवदुर्गा देवगणको जात्रा र नाचको परम्परा अनुसार बडादशैंको महानवमीको मध्यराती देवगणले सिद्धि प्राप्त गर्दछन । त्यसका लागि महिसासुरको बध गरी त्यसको आलो रगतले अभिषेक गर्नुपर्दछ । सो महिसासुरको प्रतिक खँःम्य (राँगो)लाई बिहिवार साँझ विधिवत रुपमा नवदुर्गा द्योछेंमा भित्र्याइएको छ ।
खँःम्य निख्खर कालो, शरिरमा कुनै दाग तथा घाउचोटको खोट नभएको, लामो पुच्छर भएको र शारिरीकरुपमा ठूलो हुनुपर्ने प्रचलन रहेको छ । खँःम्य घण्टाकर्ण चतुदर्शी अर्थात गथामंगःचर्हेको दिन वा सो दिनदेखी नागपञ्चमीसम्म नवदुर्गा द्योछेंमा भित्र्याउनु पर्ने प्रचलन रहेको देवगणका नायो (नाईके) एवम् नवदुर्गा देवगण जात्रा व्यवस्थापन समितिका अध्यक्ष व्रिजेश वनमालाले बताउनुभयो । सोही अनुसार बिहिवार नवदुर्गा द्योछेंमा खँःम्य भित्र्याइएको हो ।


खँःम्यलाई द्योछेंमा भित्र्याउनुअघि नकीं ईन्दिरा वनमालाले विधिपूर्वक पुजा गरी लशकुश गर्नुभएको थियो । खँःम्यलाई बडादशैंको महानवमीको साँझसम्म नवदुर्गा द्योछें भित्र राखेर पालिन्छ ।
द्योछेंमा भित्र्याउनु अघि तलेजु मन्दिरका पदाधिकारीहरुले खयेको अवलोकन गरी खँःम्य योग्य छ छैन निक्र्यौल गरिन्छ । त्यसपछि सोही स्थानबाट खँःम्यलाई झिगाँं र लामखुट्टेले टोक्न नकोस भनी तोरीको तेल लगाएर द्योछेंमा ल्याउने परम्परा छ । द्योछेंमा भित्र्याएपछि खँःम्यलाई जसले नवदुर्गा द्योछेंको किलामा बाँड्छ सोही व्यक्तिले नै महानवमीको दिनमा किलाबाट खोल्ने र आफै ब्रम्हायणी पिठमा गई बलि दिनु पर्ने परम्परा समेत रहको छ ।

विधिवतरुपमा नवदुर्गा द्योछेंं भित्र्याएको खँःम्यलाई महानवमीको साँझ ब्रम्हायणी लैजान मात्र बाहिर निकालिइन्छ । सोही दिन खँःम्यलाई जाँड, रक्सी खुवाउने र शरिरभरी तेल लगाएर अबिर छरेर दौडाएर ब्रम्हायणी पीठ पु¥याउने प्रचलन रहेको छ ।
यसवर्ष नवदुर्गा भवानीलाई खँःम्य भक्तपुर नगरपालिका वडा नं.४ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं.६ घलाँते बस्ने लक्ष्मण छुँजुले चढाउनुभएको हो । आफ्नो भाकलका लागि वर्षेनी नवदुर्गालाई खँःम्य चढाउनेको संख्या बढेपछि देवगणले खँःम्य चढाउने पालो निर्धारण गरेको छ । सो अनुसार यसवर्ष लक्ष्मणको पालो परेको हो ।
“आफुले गर्दै आएको व्यवसाय र मनले आँटेको काम पुरा भएकाले केही वर्ष अघि देखी नवदुर्गा भवानीलाई खँःम्य चढाउने ईच्छा गरेको थिएँ,” लक्ष्मणले भन्नुभयो, “यसवर्ष बल्ल पालो पाएँ ।”
दाता लक्ष्मणले यसवर्ष काठमाण्डौं गोकर्णबाट खँःम्य ल्याएको बताउनुभयो । “गत साउन ६ गते नै खँःम्यलाई गोकर्णबाट ल्याएर भक्तपुरकै जगातीमा राखी पालेर राखेको थिए,” उहाँले भन्नुभयो, “घण्टाकर्ण चतुदर्शीकै दिन खँःम्य चढाउने तयारी गरेको थिएँ । तर नकीं छनोटमा देखिएको विवादले आजको साईत जु¥यो ।”
यसवर्ष देवगणको नकीं छनोटमा भएको विवादले घण्टाकर्ण चतुदर्शीका दिन गर्नुपर्ने नवदुर्गा देवगणको विधिविधान बुधवार मात्रै गरिएको समितिका अध्यक्ष एवम् नायो व्रिजेश वनमालाले बताउनुभयो ।
गत साउन २६ गते सरोकारवाला र स्थानीय जनप्रतिनिधिहरुको पहलमा नकीं विवाद समाधान भएपछि बुधवार क्षमा पुजा गरी नवदुर्गा देवगणको परम्परा अनुसारको विधि विधानका सम्पूर्ण काम सुचारु भएको हो ।
द्योछेंमा क्षमापुजा गरिसकेपछि देवगणहरु भक्तपुरकै याछेंस्थित मुकुन्डो बनाउने चित्रकारको घरमा गई विशेष पुजागरी महादेवलाई सिद्ध गरेका थिए भने मुकुण्डो बनाउने माटो पुजा गरेका थिए । सोही दिन तालाक्वस्थित कुमाले टोलमा पुगेर देवगणले जात्रा सञ्चालनका लागि आवश्यक माटोका भाँडाहरु बनाईन आग्रह गरेका थिए ।