नेवार समूदाय गठेंमंगाः च¥हे पर्व मनाउँदैं

फाइल फोटो

लक्ष्मी गारु, भक्तपुर, साउन २२
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समूदायले घर शान्तिको कामना गर्दै गठेंमंगाः च¥हे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ । नेवार समूदायले हर्षोल्लासका साथ मनाउने गठेंमंगाः च¥हे पर्व नेवारहरुको मौलिक पर्व मध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्री चतुर्दशी मध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकोले यसलाई नेवार समूदायको मौलिक पर्वको रुपमा लिने गरेको हो ।
यस दिनलाई नेवार समुदायले आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधी नलागोस भनेर घण्टाकर्णको पुजा गरिन्छ । घर र परिवारलाई भुतप्रेत नलागोस् भनेर बौ वाय् ज्या (भुत मन्छाउने कार्य) यो पर्वको मौलिक परम्परा रहेको संस्कृतिविदहरु बताउँछन ।
नेवार समुदायले काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ति बालेर टोल बाहिरको दोवाटो वा चौवाटोमा लगेर राखी बौ वाय् ज्या अर्थात भुत मन्छाउने कार्य गर्दछन । बौ वाय् ज्या गर्ने क्रममा कसै कसैले कुखुराको बली पनि दिने चलन रहेको छ ।
बौ वाय् ज्या सँगसँगै घरघरको मुल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वांख र तिन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भुत प्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीहरुलाई फलाम वा तामाको औंठी लगाईदिने चलन पनि रहेको छ । वयस्क युवतीहरुले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।
त्यसैगरी साँझ पख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोबोटोमा लगेर राख्ने) गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फुल समेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखी तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ) मा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोवरले लिप्ने प्रचलन समेत रहेको छ ।
गठेंमंगाः च¥हेकै अवसरमा भक्तपुर नगरका टोलटोलमा नर्कट र छ््रवालीको मानवाकृतयूक्त राक्षसको प्रतिक बनाई चोक चोकमा ठ्ड्याएर राखिन्छ । सो आकृती सँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतिक बनाई जगात अर्थात पैसा उठाउन लगाईन्छ । साँझ पख सो राक्षसको प्रतिक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई बाजागाजाका साथ ख्याल ठट्टा गर्दै नजिकको खोलामा लगेर जलाईन्छ ।

फाइल फोटो

गठेंमंगाः च¥हेलाई किसानहरुले “सिनाज्या ब्यंकेगु” (रोपाईं कार्य सम्पन्न भएको) र चाडपर्व शुरुवाट भएको संकेत पर्वको रुपमा पनि लिने गरेको छ । नेवार समुदायमा रोपाईं सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा “सिनाज्या ब्यंकेगु” पर्व मनाउने गर्दछ ।
नेवार समुदायमा गठेंमंगाः च¥हे पर्व प्राचिनकालदेखी प्रचलनमा रहेको ईतिहासविद् एवम् संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको संस्कृतिविद् डा. श्रेष्ठले बताउनुभयो ।
कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पुजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतिकको रुपमा पनि लिईन्छ । पौराणिक कथन अनुसार महाभारत कालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुँदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्दछ । शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छ । तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक संकट परेपछि उनले घण्टाकर्णको रुप धारण गरेको पौराणिक कथन रहेको संस्कृतिविद् डा. श्रेष्ठले बताउनुभयो ।
गठेंमुंगाः च¥हे पर्वसँगै नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिन्छ । नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरव नाच, व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षण समेत गठेंमंगाःसँगै शुरु गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि आजकै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ ।