पार्टीको वैधानिकता बचाउन प्रदेश र केन्द्रीय समितिको मात्र निर्वाचन गरौं – नेता पौडेल

भक्तपुर, साउन ८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन गरेर भएपनि पार्टीको वैधानिकता बचाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’को शुक्रवार भक्तपुरको कौशलटारमा विमोचन गर्दै नेता पौडेलले पार्टीको वैधानिकता बचाउन भएपनि प्रदेश र केन्द्रीय समितिको नेतृत्व चयन गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टीको वैधानिकता बचाउन सबै नेताहरु कटिवद्ध भएर लाग्नुपर्ने बताउनुभयो । ‘तोकिएको समयमा पार्टीको महाधिवेशन हुन नसके पार्टीको वैधानिकता संकटमा पर्छ । पार्टीको वैधानिकता बचाउन भएपनि प्रदेश र केन्द्रीय समितिको निर्वाचन गरेर जान सकिन्छ,’ पौडेलले भन्नुभयो, ‘हामी यत्रो ठूलो गौरवशाली पार्टीको दर्ता खारेज हुने खतरा मोल्न तयार छैनौं ।’
उहाँले क्रियाशिल सदस्यको विवाद छिटो समाधान गर्नुपर्ने र महाधिवेशन कार्यतालिका जता जे जे गरेपनि महाधिवेशनको मिति भदौ १६, १७, १८ र १९ त्यता उता दायाँबाँया हुन नसक्ने जिकिर गर्नुभयो । ‘तत्काल यो क्रियाशील सदस्यताको विवाद समाधान हुनुपर्यो । महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिनुपर्याे । यसो गरेर भए पनि हाम्रो पार्टीको वैधानिकता बचाउनका लागि कटिबद्ध भएर लाग्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्दछु,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा कांग्रेसका पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएको मिति साउन १२ गते स्थानीय तहका वडा कमिटीको अधिवेशन हुन नसक्ने बताउनुभयो । उहाँले क्रियाशिल विवाद टुंग्याउन थप दुई दिन लाग्ने क्रियाशिल छानविन समितिका संयोजकले बताएको भन्दै भन्नुभयो, ‘यस्तो अवस्थामा साउन १२ गतेबाट अधिवेशन हुन्न भनेर सबैलाई थाहा छ तर यथार्थ भन्न डराउनु पर्ने अवस्थामा कांग्रेस पुगेको छ ।’
उहाँले बिहान बसेको पदाधिकारी र पुर्वपदाधिकारीहरुको बैठकमा पार्टी सभापति र वरिष्ठ नेता पौडेल दुवैले भदौको मिति दायाँबायाँ नहुने बताएपनि अहिलेको स्थितीमा तोकिएको मितिमा महाधिवेशन हुन नसक्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायतका नेताहरुले गुरुराज घिमिरेको राजनीतिक र साहित्यिक यात्राको बारेमा चर्चा गर्नुभएको थियो ।


नेता घिमिरेको कविता संग्रहमा ४० वटा कविता संग्रहित छन । कार्यक्रममा कविता संग्रहको बारेमा समालोचक तुलसी भट्टराई र ईन्दु अधिकारीले टिप्पणी गर्नुभएको थियो ।
पुर्व अर्थसचिव विमल कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखक घिमिरेले कविताबाट ठूला ठूला क्रान्ति सम्भव भएकाले आफुले साहित्यको कविता विधालाई राजेको जानकारी दिनुभयो । उहाँले सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनमा कविताको ठूलो भूमिका रहेको चर्चा गर्दै राजनीतिक परिवर्तनका लागि जेलमा बस्दा र राजनीतिक जिम्मेवार पदमा नहुँदाको फुर्सदको समय सदुपयोग गरी साहित्य सिर्जना गरेको बताउनुभयो ।