कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने – स्वास्थ्य मन्त्रालय

भक्तपुर, साउन ७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९) को तेस्रो लहरको जोखिम बढेको चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज (बिहिवार) प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह समेत गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहरको आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्या लगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्तदुरुस्त राख्न अनुरोध छ ।’ तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शैया लगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।
विज्ञप्तीमा संक्रमण जति घट्नु पर्ने हो त्यति घट्न नसकिरहेको उल्लेख गर्दै हाल निषेधाज्ञा खुकुलो भएको अवस्थामा बुझी नबुझी, लुकिछिपी वा खुलमखुल्ला जनस्वास्थ्यका माफदण्ड उलंघन भइरहेको जनाएको छ ।
मन्त्रालयले काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको जनाएको छ । काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या २०० भन्दा धेरै भएका जिल्लाको संख्या २६ पुगेको जनाएको छ ।