एमालेका २२ सांसदले दिए देउवालाई विश्वासको मत (नामावली सहित)

भक्तपुर, साउन ४
प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ जना सांसदहरुले विश्वासको मत दिएका छन । नेकपा एमालेले सांसदहरुलाई देउवाको पक्षमा मत नदिन ह्वीप जारी गरेपनि २२ जनाले फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए ।
देउवालाई मत दिने एमाले सांसदहरुमा यसअघि ओली समूहमा रहेका ८ जना पनि छन । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १० जनाले पार्टी एकता जोगाउन भन्दै मतदानमा सहभागी नभई संसद भवनबाट बाहिरिएपनि ओली पक्षका ८ जनाले भने देउवाको पक्षमा मतदान गरेका थिए ।
देउवालाई मत दिने एमाले सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन ।