जसपाको ठाकुर पक्षले पनि देउवालाई मत दिने

भक्तपुर, साउन ३
प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ । संसदमा प्रधानमन्त्री देउवाको विश्वासको मत लिने प्रस्तावमाथी छलफल भइरहेको बेला ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।
जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मत नदिएपनि आवश्यक मत पुग्ने भएको छ । हाल संसदमा २७१ सदस्य छन । विश्वासको मत प्राप्त गर्न १३६ मत आवश्यक छ ।
त्यसका लागि कांग्रेसका ६३ मध्ये ६१ जनाले मत दिन पाउनेछन् । कांग्रेसका दुई सांसद विजयकुमार गच्छदार र मोहम्मद अफ्ताब आलमले निलम्बनको कारण मत दिन पाउने छैनन् । त्यसैगरी, नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चार जना बर्खास्त भएका कारण ४९ जनाले मत दिन पाउँछन । माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार सांसद टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरी शंकर चौधरी बर्खास्त भएका छन ।
जसपाका ३४ मध्ये ३२ सांसदले मत दिन पाउँछन । जसपाका रेशम चौधरी र हरिनारायण रौनियारले मतदान गर्न पाउने छैनन् । देउवालाई राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।
जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि देउवाले कांग्रेसका ६१, माओवादीका ४९, जसपाका ३२ र जनमोर्चाको एक गरी कुल १४३ मत पाउने पक्का भएको छ ।