अर्जेन्टिना र मेस्सीले तोड्यो उपाधीको खडेरी

भक्तपुर, असार २७
अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सीलाई म्यारोडोनासँग तुलना गरिन्छ । शारिरीक उचाई मात्र होइन खेल्ने कला कौशल र शैलीका कारण पनि मेस्सीलाई म्यारोडोनासँग तुलना गरिन्छ । व्यक्तिगत जीवनमा जति नै उत्कृष्ट प्रदर्शनसँगै अनेकौं उपाधी जितेपनि देशका लागि उपाधी दिलाउन नसक्ने कप्तानको रुपमा मेस्सीको नाम जोडिएको थियो । तर ब्राजिललाई उसैको मैदानमा हराएर अर्जेन्टिनाले १५ औं पटक कोपा अमेरिका कपको उपाधी जितेसँगै मेस्सीको नाममा रहेको त्यो दाग अब मेटिएको छ ।
हो, अर्जेन्टिनाका लागि मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधी जिते आइतवार बिहान । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका हुन । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा कोपाको उपाधी जितेको थियो । त्यस यता अर्जेन्टिना चार पटक कोपा, एक पटक विश्वकप र दुई पटक कन्फ्रेडेरेसन कपको फाइनल खेलेपनि उपाधी भने जित्न सकेको थिएन ।
पछिल्लो पटक सन् १९९३ मा ईक्वेडरमा सम्पन्न कोपा कपको फाइनलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–१ ले पराजित गर्दै उपाधी जितेको थियो । त्यस यता सन् २००४, २००७, २०१५ र २०१६ को कोपा र २०१४ को विश्वकपको फाइनलमा पुगेपनि अर्जेन्टिना उपाधी जित्न असफल भएको थियो ।


अर्जेन्टिना सन् २००४ र २००७ को कोपामा ब्राजिलसँग र सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो । ब्राजिलसँग सन् २००४ मा अर्जेन्टिना २–२ गोलमा बराबरीमा सकिएको खेलमा टाईब्रेकरमा ४–२ ले पराजित भएको थियो भने २००७ मा ३–० ले पराजित भएको थियो ।
त्यसैगरी २०१५ र १६ मा चिलीसँग गोलरहित बराबरी खेलको अर्जेन्टिना टाईब्रेकरमा क्रमशः ४–१ र ४–२ ले पराजित हुन पुगेको थियो ।
मेस्सीको प्रेरणादायी खेलसँगै अर्जेन्टिना सन् १९९० पछि पहिलो पटक सन् २०१४ को विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । सो खेलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा ०–१ ले पराजित भएको थियो ।


अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने क्रममा उरुग्वेको कीर्तिमानको बराबरी गरेको छ । सन् १९९३ पछि २८ वर्षमा अर्जेन्टिनाले कुनै पनि ठूलो उपाधी जित्ने क्रममा मेस्सीले पाँचौं पटकको प्रयासमा पहिलो अन्तर्राष्ट्रिय उपाधी जित्न सफल भएको हो । मेस्सीले २००७, २०१५ र २०१६ मा कोपा र २०१४ को विश्वकप फाइनल खेलेका थिए तर कुनैमा पनि उपाधी जित्न सकेन ।
डेढ दशकको प्रयासपछि पहिलो उपाधी जितेका मेस्सीले ब्राजिल विरुद्ध गोल गर्न भने सकेन । यद्यपी यस संस्करणमा ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेर मेस्सी उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधी पनि हात पारे । मेस्सीले यसअघि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा गोल्ड मेडल जितेका थिए । तर त्यो यु–२३ टिमले खेल्ने प्रतियोगिता थियो ।