कविता प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत

भक्तपुर, जेठ २४
शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरिय कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई आज पुरस्कृत गरेको छ । स्व. जोन्छेंको ९ औं स्मृति दिवसको अवसरमा प्रतिष्ठानको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कारले पुरस्कृत गरिएको हो ।
गत चैत्र २७ गते सम्पन्न प्रतियोगिताको दश जोड दुई र कलेजतर्फ आदर्श माध्यामिक विद्यालयका सुष्मा तिमल्सिना प्रथम हुनुभएको थियो । उहाँले नगद १० हजार पुरस्कार प्राप्त गर्नुभयो । त्यसैगरी द्धितिय हुने सैनिक आवासिय विद्यालयकी सुस्मिता श्रेष्ठले ७ हजार, तृतिय हुने सैनिक आवासिय विद्यालयकै रोमिका शर्माले ५ हजार र सान्तवना पुरस्कार पाउने सैनिक आवासिय विद्यालयका आदर्शबाबु ढकाल र आदर्श माविका ईन्दिरा नेपालले जनही ३÷३ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

त्यसैगरी विद्यालयतर्फको प्रतियोगितामा प्रथम हुने महेन्द्र विद्या आश्रम माविका अपेक्षा लामाले ५ हजार, द्धितिय हुने अरनिको माविका समिक्षा न्यौपानेले ३ हजार, तृतिय हुने दुई जना श्री मेधा माविका आयुष दंगाल र एमिनिटी ई. स्कुलका संयोग अधिकारीले जनही २÷२ हजार, तथा सान्तवता पुरस्कार पाउने दुई जना सैनिक आवासिय विद्यालयका श्रेया नेपाल र बालमिकेश्वर माविका प्रवेश तिमिल्सिनाले जनही एक एक हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

पुरस्कृत विद्यार्थीहरुलाई प्रतिष्ठानका अध्यक्ष एवम् बागमति प्रदेशसभा सदस्य रजनी जोन्छेंले पुरस्कार प्रदान गर्नुभएको थियो । संक्षिप्त कार्यक्रममा सहभागीहरुले स्व. जोन्छेंको तस्विरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
स्व. जोन्छेंको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुँदैं आएको जिल्ला व्यापी विद्यालयस्तरिय कविता प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई स्मृति दिवसको दिन पारेर नगद पुरस्कार वितरण गरेको अध्यक्ष जोन्छेले बताउनुभयो । प्रमाणपत्र र शिल्ड कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएर वातावरण सहज भएपछि खुल्ला कार्यक्रम आयोजना गरी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।