बुर्किना फासोमा बन्धुकधारीको आक्रमणबाट एक सय भन्दाबढीको मृत्यु

एजेन्सी, जेठ २३
अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारीहरूले आक्रमण गर्दा एक सय भन्दा बढीको ज्यान गएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शुक्रवार राति सोल्हान गाउँमा गरिएको गोलाबारी र आगजनीमा कम्तिमा १३२ जनाको ज्यान गएको छ ।
आक्रमणको हालसम्म कसैले जिम्मा लिएको छैन । तर पछिल्ला दिनहरूमा त्यहाँ इस्लामी समूहहरूको गतिविधि बढेको बताईएको छ । उक्त क्षेत्रमा सशस्त्र समूहहरूले छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन् ।
खासगरी नीजेर र मालीसँग जोडिएका क्षेत्रमा त्यस्ता घटनाहरू सामान्य भइरहेका छन् । बुर्किना फासोले आफ्ना छिमेकी राष्ट्रहरूमा जस्तै गहिरिँदै गएको सुरक्षा संकटको सामना गरिरहेको छ ।
फ्रान्सेली फौजले माली, चाड, मोरीटेनीया, नीजेर र बुर्कीना फासोका सैनिकलाई अतिवादीहरूसँग लड्न सहयोग गरिरहेका छन् । तर हालसालै भएको कु का कारण फ्रान्सले यसै हप्ता मालीलाई गरिरहेको सहयोग भने रोकेको छ ।
बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो । बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । दानवी शक्तिविरुद्ध सबै एक हुनु पर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाको गम्भीर निन्दा गर्दै आफूलाई आक्रोशित बनाएको बताउनुभएको छ ।
शुक्रबार राति नै भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको छ । अघिल्लो महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो ।