चुरे दोहनमा वर्तमान र पुर्व सरकारहरु जिम्मेवार ः अध्यक्ष बिजुक्छें

भक्तपुर, जेठ २२, लक्ष्मी गारु
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले चुरे दोहनमा वर्तमान र पुर्व सरकारहरु जिम्मेवार रहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन अनलाइनमार्फत शनिबार सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेंले चुरे दोहनमा विदेशी स्वार्थ समेत रहेको बताउनुभएको हो ।
उहाँले चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत भएकाले यसको संरक्षण गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो, यसको संरक्षण गर्नु आवश्यक छ । चुरे दोहनमा पुर्व र वर्तमान सरकारहरु जिम्मेवार रहेको र यसमा विदेशी स्वार्थ रहेको प्रष्ट छ ।’
अध्यक्ष बिजुक्छेंले ङातापोल्हँ (पाँचतले मन्दिर) र अन्य सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरु मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्वपूर्ण शिक्षालयको रुपमा रहेको बताउनुभयो । कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याउँदैं उनले मुख्य–मुख्य स्मारकहरुबारे अध्ययनलाई निरन्तरता दिनुपर्ने र पुरातत्व सम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले दुईतिहाई बहुमत प्राप्त सरकारले देश र जनताको सेवा गर्न नसेकेको आरोप लगाउँदैं निर्वाचनको माध्यमबाट यिनीहरुलाई पराजीत गर्नुपर्ने बताउनुभयो । उहाँले जन्मको आधारमा नागरिकता पाएकालाई वंशजको आधारमा नागरिकता दिने अध्यादेश देशको हितमा नभएको बताउनुभयो । काठमाडौं उपत्यका वरपर आधुनिक सहर निर्माण गर्ने सरकारको योजना सन्तुलित विकासको विरोधी योजना भएको उहाँको भनाई छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार अरुको सहयोगमा भर परेर नभई आफ्नै पौरखले सम्पन्न गर्नुपर्ने भावनासहित सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका काम प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जनताकै सहयोग र सहभागितामा मौलिक शैलीमै सम्पन्न गर्न निरन्तर नगरपालिका लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय जनताको मौलिक सीप र प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएको पाँचतले मन्दिरले आधुनिक ज्ञान र प्रविधिलाई समेत चुनौती दिएको छ ।”
विशेष अदालतका पूर्व मुख्य न्यायाधीश गौरीबहादुर कार्कीले पाँचतले मन्दिरबारे थप अध्ययन तथा अन्वेषणहरु आवश्यक भएको बताउँदैं भूकम्प पश्चात पुनःनिर्माण हुन बाँकी सम्पदाहरुको पुनःनिर्माणमा भक्तपुर नपाले जोड दिनुपर्ने सुझाव दिनुभयो । उहाँले सांस्कृतिक सम्पदा संरक्षण कार्यमा अग्रणी भूमिका खेलेका दक्ष कालिगढहरुलाई सरकारले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रा.डा. सुदर्शनराज तिवारीले २०७२ सालको भूकम्पबाट क्षति पुगेको पाँचतले मन्दिरको जीर्णोद्धार र सबलीकरणको काममा सल्लाहकारको रुपमा कम गर्न पाउँदा निकै गौरवान्वित महसुस गर्दै मन्दिर जीर्णोद्धारमा देखिएको जनसहभागिताका कारण यस मन्दिरप्रति समाजको अपनत्व हुनु सकारात्मक रहेको बताउनुभयो ।
प्रा.डा. प्रेमनाथ मास्केले सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाको नियमित अनुगमन र मर्मत सम्भार हुनुपर्ने सुझाव दिनुभयो । ईतिहासविद् एवम् संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भूपतिन्द्र मल्लको पालामा पाँचतले मन्दिर ६ महिनाको छोटो समयमा निर्माण भएको तथ्यबारे प्रष्ट पार्दै नेपाल अबका दिनमा सांस्कृतिक सम्पदाहरुबाट चिनिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ङातापोल्हँ पुनर्निर्माण उपभोक्ता समितिले मन्दिर जीर्णोद्धारदेखिका कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पुस्तकमा ङातापोल्हँ मन्दिरको धार्मिक, साँस्कृतिक, एतिहासिक र पुरातात्विक विषयवस्तुका साथै यसको निर्माण र जिर्णोद्धारका सम्पूर्ण पक्ष समेटिएको बताईएको छ । मन्दिरको जिर्णोद्धार भक्तपुरबासी जनताको साथ र सहयोगबाट लगभग ८ महिना सम्पन्न भएको थियो । मन्दिर जिर्णोद्धारका लागि दैनिक सयौंको संख्यामा स्थानीयले श्रमदान समेत दिएका थिए ।