मन्त्रिपरिषद पुनर्गठन, जसपाका १० नेता मन्त्री बने

भक्तपुर, जेठ २१
प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रवार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका १० सहित १३ नयाँ अनुहारलाई समावेश गर्दै मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति भवन शितल निवासमा शपथ ग्रहण भएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नेक्रममा मौजुदा मन्त्रिपरिषदका उपप्रधानमन्त्रीसहित ९ मन्त्री र ३ राज्यमन्त्रीलाई बिदा गर्नुभएको छ । पुरानो मन्त्रिपरिषदका अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई मात्र निरन्तरता दिईएको छ ।
नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नयाँ मन्त्रिपरिषदमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरियाले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएको छ ।
त्यस्तै चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ । जसपाकै चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त हुनुभएको छ । सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् ।
मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे बिदा हुनुभएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विकलाई पनि सरकारबाट बिदा गरिएको छ ।
प्रधानमन्त्र िओलीले सात मन्त्रालयको जिम्मेवारी आफैंसँग राख्नुभएको छ । प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय आफैंसँग राख्नुभएको छ ।
सरकारमा रहेका केही वरिष्ठ नेताहरुलाई पार्टीमा सक्रिय बनाउन सरकारबाट बिदा गरिएको बुझिएको छ । त्यस्तै पुर्वमाओवादी पृष्ठभुमिका केही नेता र एमाले भित्र पनि माधव–झलनाथ समूह छाडेर आउने नेतालाई मन्त्री बनाउन सात मन्त्रालयले ओली आफैंले राखेको स्रोतले बताएको छ ।

तस्विर, सेतोपाटीबाट साभार