झुठको पुलिन्दा धेरै बेर टिकेन

भक्तपुर, जेठ २१, जगत प्रजापति

राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टिका प्रसाद ढकालले बिहिवार राती ९ बजेर ३५ मिनेटमा एउटा सनसनीपूर्ण ट्वीट गरे । उनले ट्वीटमा राष्ट्रपतिको अग्रसरतामा अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको खुलासा गरे ।
‘सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले कोभिड–१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ,’ ढकालले ट्वीटमा उल्लेख गरेका थिए ।
जेठको पहिलो साता विकसित भएको राजनीतिक घटनाक्रम र ती घटनामा प्रधानमन्त्री के पी शर्मा ओलीको रबरस्ट्यामको रुपमा काम गरेको भन्दै आलोचित बनेका राष्ट्रपति भण्डारीले त्यसयता कोरोना विरुद्धको खोप र स्वास्थ्य सामग्री अनुदानमा ल्याउन पहलकदमी र अग्रसरता देखाएका छन । उनले टेलिफोनमा प्रत्यक्ष सम्वाद गरेपछि चिनिया राष्ट्रपतिले तत्काल १० लाख खोप दिने घोषणा गरे । सो घोषणा अनुसारको खोप नेपाल आइसकेको छ । राष्ट्रपतिकै आग्रहमा थाई राजपरिवारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । उनले भारतका समकक्षीलाई पनि पत्र पठाई खोप सहयोग गर्न आग्रह गरेका छन ।
यसै सन्दर्भमा राष्ट्रपति भण्डारीले अमेरिकाका लागि नेपालका राजदुत डा. युवराज खतिवडामार्फत अमेरिकी राष्ट्रपति जे वाइडेन समक्ष खोप सहयोगको आग्रह गरेका थिए । ढकालको ट्वीटले आम मानिसमा चासो बढ्नु स्वभाविक हो ।
ढकालको ट्वीटपछि यो खबर राती नै कयौं अनलाईन सञ्चारमाध्यमहरुले ब्रेकिङ न्यूजको रुपमा प्रकाशन गरे । राती नै यो खबरले सनसनी मच्चायो । नमचाउनु पनि किन ? नेपाल अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको छ । मानिसमा त्राहीत्राही छ । जनता निषेधाज्ञाले घरभित्र थुनिनु परेको अवस्था छ । खोप लगाउन बाँकी जनता खोप कहिले आउला भनेर सरकारको मुख ताकेर बसेका छन । सरकारले समयमा खोपको व्यवस्थापन गर्न चासो नदिएको, कोरोना विरुद्धको लडाईंका लागि आवश्यक तयारी समयमा नगर्नाले जनता अक्सिजन र औषधिउपचार गर्न नपाएरै प्राण त्याग्न बाध्य भएको आरोप विपक्षीहरुले लगाउँदै आएका छन । सरकारलाई यो चुनौतीको रुपमा खडा भएको अवस्थामा एकाएक विश्व शक्ति राष्ट्र अमेरिकाले ५० लाख डोज खोप दिने खबर राष्ट्रपतिको सञ्चार विज्ञजस्तो गरिमामय पदमा आसिन ढकालबाट सार्वजनिक भएपछि नपत्याउनु पनि कसरी ?
लगत्तै प्रधानमन्त्री के पी शर्मा ओलीका अन्धभक्त समर्थकहरुले पनि यसलाई भाइरल नै हुने गरी सामाजिक सञ्जालमा शेयर गरे । राष्ट्रपतिलाई गाली गर्नेहरुलाई गतिलो जवाफ फर्काए ।
बिहिवार राती नै अर्को समाचार प्रकाशनमा आयो, जुन समाचारले ढकालको ट्वीटको खण्डन ग¥यो । समाचार अनुसार अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको थियो । जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकलाई उपलब्ध गराउने घोषणा गरिएको थियो ।
कोभ्याक्समार्फत वितरण हुने खोपमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जाने र बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जाने घोषणा गरिएको थियो ।
एशियाका लागि छुट्याइएको ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुन्यूगिनी, ताइवान र एशिया प्यासिफिक आइल्याण्डलाई दिने घोषणा अमेरिकी राष्ट्रपति कार्यालयको छ ।
अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डोज कोरोना खोप विश्वभर सहयोग गर्दैछ, यसमध्ये पहिलो चरणमा दिइने साढे २ करोडको खोप वितरणको योजना अमेरिकी राष्ट्रपति जे वाइडेनले सार्वजनिक गरेका हुन् । कोभ्याक्स कार्यक्रममार्फत नेपालले २० प्रतिशत जनसंख्यालाई खोप पाउने अपेक्षा छ । हालसम्म २ लाख ८४ हजारभन्दा बढी डोज खोप आइसकेको छ ।

बिहिवार राती नै खण्डित भईसकेको समाचारलाई पुष्टि गर्न शुक्रवार बिहान प्रधानमन्त्री के पी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि एक तिहाई खोपको व्यवस्थापन भन्दै खोप सम्बन्धी एक ट्वीट गरे । उनले पनि अमेरिकाले नेपाललाई ५० लाख खोप दिने जानकारी दिए । उनले लेखेका छन, ‘एक तिहाई खोपको व्यवस्थापन– अमेरिकाबाट अनुदान ५० लाख, चीनबाट अनुदान १८ लाख, भारतबाट अनुदान १० लाख, सुरक्षकर्मीलाई प्राप्त १ लाख, भारतबाट खरिद १० लाख, खरिदको आउनबाँकी १० लाख, कोभ्याक्स अनुदान ३ लाख ४८ हजार–जम्मा १ करोड २ लाख ४८ हजार, कुल चाहिने ४ करोड डोज । बधाई छ सरकार ।’
ढकालले आफ्नो ट्वीट राती हटाए । किनकी उनको ट्वीटमा कुनै सत्यता थिएन । उनले सरासर झुठ बोलेर जनतालाई झुक्याउने प्रयास गरेका थिए । तर त्यो झुठको पुलिन्दा धेरै बेर टिक्न सकेन । उनले राती नै उक्त ट्वीट डिलिट गरेर अर्को ट्वीट गरे । उनले नयाँ ट्वीटमा लेखेका छन, ‘मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो ।’
ढकालको ट्वीट झुठो भएको प्रमाणित भइसकेपछि पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारले पुनः अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको ट्वीटर मार्फत सार्वजनिक गर्नु अर्को लज्जाको विषय हो । उनले पनि पहिलेको ट्वीटलाई हटाएर अर्को ट्वीट गरिसकेका छन । त्यसमा उनले भनेका छन, ‘तथ्यांक लेख्न उचित लागेन । हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसका निम्ति राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन । आफु र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरुले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन त प्रकट भएकै छ ।’
देशको गरिमामय पदमा आसिन व्यक्तिको सचिवालयमा बसेका जिम्मेवार व्यक्तिहरुले गर्ने यस्ता गल्तीलाई के भन्ने ? के यो जानी जानी जनता झुक्याउन गरेको ट्वीट थियो ? यसको जवाफ ढकाल र थापा दुवैले दिनैपर्छ । यस्ता ट्वीटले थापा र ढकालको व्यक्तिगत प्रतिष्ठामा आँच ल्याएको त छ नै, यसले प्रधानमन्त्री र राष्ट्रपतिको गरिमामा समेत ठेस पु¥याएको छ ।