ख्वप अस्पताललाई थप ४४ लाख ७५ हजार सहयोग

भक्तपुर, जेठ १९

ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि बुधवार थप ४४ लाख ७५ हजार रुपैंया आर्थिक सहयोग जुटेको छ । यससँगै सहयोग रकम ४ करोड ५ लाख ८७ हजार ८९ रुपैंया पुगेको नगरपालिकाले जनाएको छ ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालले ब्रम्हायणीमा कोभिड युनिटसँगै आइसोलेसन केन्द्र सञ्चालन गर्दै आइरहेको छ । कोभिडका गम्भिर बिरामीलाई अक्सिजन अभाव भएपछि नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट तत्काल स्थापना गर्ने र त्यसका लागि आवश्यक रकम जुटाउन जनस्तरमा सहयोगको अपिल गरेको थियो ।
सोही अपिल बमोजिम नगरका सहकारी संस्था, विद्यालय कलेज, विभिन्न संघ संस्था, व्यवसायिक संघ संगठन र नगरबासीहरुले आर्थिक सहयोग प्रदान गरेका हुन । सहयोग रकम ग्रहण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले विषम परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने संघ—संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा शुभचिन्तकहरुलाई नगरपालिकाको तर्फबाट धन्यवाद दिनुभयो ।