निषेधाज्ञा एक साता थपियो, किराना पसल बिहान ९ बजेसम्म खोल्न पाईने

भक्तपुर, जेठ १९

काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा केही खुुकुलो बनाई एक साता लम्ब्याएको छ । उपत्यकाका काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो ।
गत साता थप कडा गरेको निषेधाज्ञा खुकुलो बनाई यो साता खाद्यान्न पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने व्यवस्था गरेको छ । ‘किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने गरी निषेधाज्ञा एक साता थप्ने निर्णय गरेका छौं,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भन्नुभयो । त्यस्तै तरकारी, फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्।
प्रजिअ भट्टराईले विकास निर्माणका कार्य पनि खुला गरिएको बताउनुभयो । कामदारलाई कार्यक्षेत्रमा नै बस्ने व्यवस्था गरी काम गर्न खुला गरिएको छ, उहाँले भन्नुभयो, तर निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो लेबर राखेर काम गर्न दिइने छ ।
यातायात सञ्चालनमा भने साविक व्यवस्थालाई निरन्तरता दिईएको प्रजिअ भट्टराईले बताउनुभयो । निजी संघ–संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय–पत्र चाहिने छ । व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास आवश्यक पर्नेछ ।