नेपाली कांग्रेस भक्तपुरले मेलम्ची र हेलम्बुलाई नगद ३ लाख ५१ हजारसहित राहत सामग्री सहयोग

भक्तपुर, असार ८
नेपाली कांग्रेस भक्तपुरले सिन्धुपाल्चोकको बाढी पिडितको सहयोगार्थ नगद तथा राहत सामग्री नेपाली कांग्रेस केन्द्रीय विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले नगद ३ लाख ५१ हजारसहित विभिन्न सामग्री समितिका संयोजक मोहनबहादुर बस्नेतलाई हस्तान्तरण गर्नुभएको हो ।
राहत सामग्रीमा चामल २ हजार ४७५ केजी, सोयाविन २ सय प्याकेट, चिउरा, दाल, आलु, तेल, नुनलगायतका खाद्यान्न, लत्ताकपडा, औषधिलगायत छन ।


सो अवसरमा नेता बस्नेतले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु जाने सडक सञ्जाल बाढीले विच्छेद गरेकोले हेलिकप्टरमार्फत सहयोग रकम बुधवार पिडितहरुलाई वितरण गर्ने जानकारी दिनुभयो । उहाँले हेलिकप्टरको खर्च सिन्धुपाल्चोकका स्थानीय कांग्रेसका नेताहरुले व्यवस्थापन गर्ने सहयोग वापतको रकम पिडितको हातमा पुग्ने गरी व्यवस्था गरेको जानकारी समेत दिनुभयो ।
उहाँले राहतका अन्य सामग्री वैकल्पिक मार्गमार्फत मेलम्ची र हेलम्बु पु¥याउने व्यवस्था गरिएको बताउनुभयो । राहत सामग्री लिएर भक्तपुरका कांग्रेस नेताहरुको टोली बुधवार त्यसतर्फ प्रस्थान गर्ने जिल्ला सभापति दुर्लभ थापाले बताउनुभयो ।
नेपाली कांग्रेस भक्तपुरले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढीले ठूलो जनधनको क्षति गरेपछि सहयोगको लागि राहत सामग्री र नगद संकलन गरेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ सभापति जीवन खत्रीले बताउनुभयो ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति नारायणभक्त खायमलीले जिल्ला सभापतिको निर्देशनमा, उपसभापति हरि प्रसाद नेपालको संयोजनमा दुवै क्षेत्रीय सभापति, नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता एवम् सांसद कृष्णलाल भँडेललगायतको सक्रियतामा राहत तथा नगद संकलन गरिएको जानकारी दिनुभयो ।