युरोकप – चेक रिपब्लिक, स्लोभाकियाको जित, स्पेन र स्विडेन बराबरी

भक्तपुर, असार १
चेक रिपब्लिकले युरोकप फुटबलमा सोमवार स्कटल्याण्डलाई २–० ले पराजित गर्दै सुखद शुरुवात गरेको छ । ह्याम्पडेन पार्कमा चेक रिपब्लिकलाई जित दिलाउन जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड प्याट्रिक शिकले दुई गोल गरे ।
प्याट्रिकले खेलको ४२ औं मिनेटमा हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा स्कटल्याण्डका गोलकिपर डेभिड मार्सल अघि बढेको स्थितिमा प्याट्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेक रिपब्लिकलाई २–० को जित दिलाए ।


प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले खेलको शुरुवातदेखि नै आक्रमक फुटबल खेलेका थिए । खेलमा स्कटल्याण्डले पनि गोलको केही अवसर बनाएको थियो, तर मौकालाई सदुपयोग गर्न सकेन ।
चेकले ११ वर्षपछि स्कटल्यान्डलाई हराएको हो । चेकले पछिल्लोपटक स्कटल्यान्डलाई ९ अक्टोवर २०१० मा युरो छनोटको खेलमा १–० ले पराजित गरेको थियो । त्यस यता यी दुई टोली चारपटक आमनेसामने हुँदा एक खेल बराबरी भएको थियो भने तीन खेलमा चेक पराजित भएको थियो । सन् २०११ मा २–२ गोलको बराबरी खेल्दा त्यसपछि स्कटल्याण्डले २०१६ मा १–०, २०२० मा २–१ र १–० ले जित हासिल गरेको थियो ।
स्लोभाकिया २–१ ले विजयी
त्यसैगरी स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाए । स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो ।

तर, खेलको ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए । ६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटियो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि खेलको ६९ औं मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २–१ को जित दिलाए ।
स्पेन र स्विडेन बराबरी
समूह ई को स्पेन स्विडेनको खेल गोलरहित बराबरीमा सकिएको छ । गएराती सेभियामा सम्पन्न खेलमा दुवै टोलीले केही अवसर बनाएपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।
घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाउनु प¥यो । स्विडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन ।