कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव

भक्तपुर, जेठ २९
नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ गतेबाट हुने भएको छ । कांग्रेसको केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको आज सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले यसअघि घोषित मितिमा संशोधन गर्दै महाधिवेशन भदौ १६ गते निर्णय गरेको हो ।
बैठकले वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने प्रस्ताव गरिएको छ । पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन शुरु गर्न सक्ने अवस्था नभएको भन्दै संशोधित नयाँ कार्यतालिका प्रस्ताव गरिएको हो ।
महाधिवेशनका लागि क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गरी टुंगाउने प्रस्ताव आएको छ । बैठकको प्रस्तावलाई थप छलफल गरी आगामी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गर्ने जनाएको छ । केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री प्रकाश शरण महतले बताउनुभयो । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।