भक्तपुरमा तीनदेखी कोरोना संक्रमितको मृत्यु शुन्य

भक्तपुर, जेठ २८
भक्तपुरमा लगातार तेस्रो दिन कोरोना संक्रमितको मृत्यु शुन्यमा रहेको छ । भक्तपुरमा पछिल्लो पटक गत जेठ २४ गते सोमवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यस यता बिहिवारसम्म मृत्यु दर शुन्य रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
‘गएको ३ दिनदेखी भक्तपुरमा कोरोना संक्रमणको कारण कसैको ज्यान गएको छैन,’ स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले भन्नुभयो । भक्तपुरमा २७६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । ती मध्ये १७९ पुरुष र ९७ महिला छन । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी मध्यपुर थिमि नगरपालिकामा ६३ पुरुष र २८ महिला गरी ९१ जना कोरोना संक्रमितको ज्यान गईसकेको छ । भक्तपुर र सूर्यविनायक नगरपालिकामा समान ७४ जना संक्रमितको मृत्यु भएको छ । भक्तपुरमा कोरोनाका कारण ज्यान गुमाउनेहरुमा ४४ पुरुष र ३० महिला छन भने सूर्यविनायकका ४६ पुरुष र २८ महिला छन । त्यस्तै चाँगुनारायण नगरपालिकामा २६ पुरुष र ११ महिला गरी ३७ जना संक्रमितको मृत्यु भएको मिजारले बताउनुभयो ।
भक्तपुरमा ९३ प्रतिशत कोरोना संक्रमित संक्रमण भएका छन । भक्तपुरका कुल २० हजार ९७४ संक्रमित मध्ये १९ हजार ५५४ संक्रमण मुक्त भएका छन । जुन ९३ दशमलव २२ प्रतिशत हो ।
भक्तपुरमा एक हजार १४४ संक्रमित उपचाररत छन । ती मध्ये ४४ पुरुष र ३८ महिला गरी ८४ जना अस्पताल र संस्थागत आइसोलेसनमा रहेका छन् । सक्रिय संक्रमितमध्ये ५३२ पुरुष र ५३० महिला गरी एक हजार ६२ जना होम आइसोलेसनमा रहेको मिजारले बताउनुभयो ।