गण्डकीमा धल्यो नेकपा एमालेको सरकार

भक्तपुर, जेठ २७
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त हुनुभएको छ । प्रदेश सभामा आज विश्वासको मत लिन असफल भएपछि उहाँ स्वतः पदमुक्त हुनुभएको हो ।
प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतले गत बैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका गुरुङले प्रस्तुत गर्नुभएको विश्वासको प्रस्तावको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित भएपनि ५७ जनाले मात्र मतदान गरेका थिए ।
गुरुङको विपक्षमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले मतदान गरेका थिए । जनमोर्चाकै अर्का सांसद कृष्ण थापा तटस्थ बसे भन प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे उपस्थित हुनुभएन ।


गण्डकीमा अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको हो । अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न प्रदेश सभाका कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको लागि प्रस्ताव आह्वान गर्नुहुनेछ ।
उपधारा ५ मा ‘उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ । प्रदेश सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने सभामुख नेत्रप्रसाद अधिकारीले बताउनुभयो ।
गण्डकी प्रदेशमा अब विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री बनाउने तयारी गरेको छ । पोखरेललाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने सहमति रहेको छ । जनमोर्चाका कृष्ण थापाले पोखरेललाई समर्थन गर्न नसकिने बताउनुभएको छ । यस्तो अवस्थामा पोखरेललाई एक मतको आवश्यकता रहेको छ । थापाले साथ नदिने अडान लिएकाले विपक्षी गठबन्धनले राजिव गुरुङ (दिपक मनाङे)लाई आफ्नो पक्षमा ल्याउने कसरत गरिरहेको छ । गुरुङले पनि प्रदेश सभा भंग हुन नदिन विपक्षीलाई साथ दिने बताउनुभएको छ ।