जोर्डन विरुद्ध नेपाल तयार – जितको लक्ष्यका साथ मैदानमा ओर्लने

भक्तपुर, जेठ २४
आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज राती पौने दश बजे जोर्डनको सामना गर्दैछ ।
दुवै टोलीको लागि आजको खेल निक्कै महत्वपूर्ण रहेको छ । नेपालको लागि कम्तीमा एसियन कप छनोटको तेस्रो चरणमा सिधै प्रवेशको सम्भावना जिवित राख्न आजको खेल जित्नै पर्ने दवाब रहेको छ भने जोर्डनको लागि विश्वकप छनोटको अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न खेल जित्नै पर्ने दवाब रहेको छ । यस्तोमा दुवै टोलीले सम्हालिएर खेल्ने जनाएको छ ।


समूहमा अष्ट्रेलियाको ५ खेलमा १५ अंक छ । दोस्रो स्थानमा कुवेतले ६ खेलमा १० तथा जोर्डनले ५ खेलमा १० अंक जोडेको छ । नेपालको ६ अंक हुँदा ताइपेइ अंकविहिन छ । जोर्डनले आजको खेलमा जित हासिल गरे समूहमा स्पष्ट तीन अंकको अग्रतासहित दोस्रो स्थानमा उक्लने छ । आज नै हुने अर्को खेलमा अष्ट्रेलिया र चाइनिज ताइपेइ भिड्दैछन् । अष्ट्रेलियाले यो खेल जितेपछि समूहमा शीर्ष स्थान पक्का गर्नेछ ।
नेपाल र जोर्डन चौथो पटक आमनेसामने हुन लागेको हो । यसअघि तीन पटक यी दुई टोली एकआपसमा भिडिसकेको छ । यस्तोमा दुई खेल जोर्डनले जितेको छ भने एक खेल बराबरीमा रोकिएको छ ।


नेपाल र जोर्डन पहिलो पटक सन् २०१२ को विश्वकप छनोटमा भेट भएको थियो । दुई लेगको छनोट खेलमा नेपाल पहिलो खेलमा जोर्डनसँग पराजित भएको थियो । जोर्डनको घरेलु मैदानमा भएको सो खेलमा नेपाल ९–० गोल अन्तरले पराजित भएको थियो । लगत्तै नेपालमा भएको दोस्रो खेल बराबरीमा सम्पन्न भएको थियो । दशरथ रंगशालामा भएको खेल १–१ को बराबरी भएको थियो ।
नेपाल र जोर्डनबीच तेस्रो भेट यही छनोटमा भएको थियो । जोर्डनमा सम्पन्न खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।
नेपाल जोर्डनसँग जितको लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली भएपनि जितको लक्ष्यसाथ नै उत्रने बताए । ‘कतिपय संचारमाध्यममा जोर्डन निकै बलियो रहेको र नेपालको कुनै सम्भावना नरहेको भन्ने देखेको छु । तर फुटबलमा त्यसो हुँदैन । हामीले उत्तर म्यासेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘जोर्डन बलियो टोली हो । हामीले उक्त खेलका लागि आफ्नो तर्फबाट मिहिनेत गरिरहेका छौं ।’


‘दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो । मैदानमा गरेको प्रदर्शन अनुसार नै नतिजा आउँछ । हामी खेलको हरेक मिनेट राम्रो प्रदर्शन गर्न लागिरहेका छौं । सुरुवातदेखि नै हाम्रो लक्ष्य जित हासिल गर्नु नै हुनेछ,’ उनले भने,’ एसियन कपमा छनोट हुने हाम्रो लक्ष्य हो । त्यसका लागि यो खेलमा जित आवश्यक छ ।’
प्रशिक्षक अलमुताइरीले खेलमा नतिजा हासिल गर्न खेलाडीको मानसिकता कस्तो छ भन्ने निकै महत्वपूर्ण हुने बताए । ‘खेलाडीहरु उच्च मनोबलका साथ खेलिरहेका छन् । ग्रिसले सन् २००४ मा युरो जित्दा कसले सोचेको थियो र ? हामीले नतिजाका लागि भन्दापनि उच्च प्रदर्शन गर्ने लक्ष्य लिएर खेल्ने हो । मिहिनेत अनुसार हामीले नतिजा हासिल गर्ने नै छौं,’ उनले भने ।