नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

भक्तपुर – मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई विभिन्न संघसंस्था र दातृनिकायले स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार अस्पताललाई नेपालका लागि अमेरिकी पुर्वराजदुत स्टक डेलिसिको पहलमा १० लि.को हाइपर्फमेन्स अक्सिजन कन्सेन्टरेटर ६३ थान प्राप्त भएको छ । करिव ७५ लाख रुपैंयाको यो सहयोगका लागि डा. दिबेश कर्माचार्यले समन्वय गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
अक्सिजन कन्सेन्टरेटर ग्रहण गर्दै नगरप्रमुख श्रेष्ठले मैत्री नगरपालिका अस्पतालमा अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । सो अस्पतालमा हालै अक्सिजन प्लान्ट स्थापना गरिएको छ । सो प्लान्टले दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ ।

त्यसैगरी सो अस्पताललाई वन लभ वन वल्र्ड नामको संस्थाले ह्विल चियर ५ वटा, निबुलाइजर मेसिन ३ वटा, अक्सिमिटर ५ वटा, पन्जा ४ सय थान, आई भि स्ट्याण्ड ९ थान, कम्मोड ५ थान, वेडसिट २५ थान, तौल मेसिन २ थान, युरिनल ५ थान, वेडप्यान ५ थान, ठूलो बाल्टिन ५ थान र तकिया २५ थान सहयोग गरेको छ । संस्थाका निर्देशक ऋतु श्रेष्ठले सो सामग्री सोमवार नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।

 

त्यस्तै कोरिया सहयोग नियोग कोइकाले पनि मैत्री अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोइकाले डा. किम मार्फत २ सय थान पिपिइ, मास्क, पन्जा, हेडकभर लगायत लजिस्टिक सामग्री प्रदान गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले पनि ५ हजार थान मास्क, स्यानिटाइजर, हाइजिन किटलगायतका सामग्री सहयोग गरेको छ । च्याउ कृषक आकाश बाडले नगरपालिकाले बोडेमा सञ्चालन गरेको आइसोलेसन केन्द्रमा बसेका कोभिड–१९ का बिरामीका लागि रातो च्याउको सुपको लागि धुलो च्याउ सहयोग गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।