विश्वकप छनौटका लागि नेपालको खेलसमय सार्वजनिक

भक्तपुर – नेपालले खेल्ने फिफा विश्वकप छनोटको तीन खेलको खेल तालिका र समय सार्वजनिक भएको छ । कुवेतमा हुने छनोट खेलमा नेपालले चाइनिज ताइपेइसँग जुन ३ तारिख अर्थात् बिहीबार, जोर्डनसँग जुन ७ अर्थात् सोमबार र अष्ट्रेलियासँग जुन ११ तारिख अर्थात् शुक्रबार खेल्ने छ । तीन वटै खेल नेपाली समय अनुसार राती ९ः४५ हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगी सकेको छ । जेठ १५ गते ईराकसँग मैत्रीपूर्ण खेल खेल्न गएको नेपाली टोली उतैबाट कुवेत पुगेको हो । करिव २० वर्ष पछि ईराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।

विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गणितिय रुपमा मात्र सम्भावना बाँकी रहेको नेपालका लागि कुवेत यात्रा एसियन कप छनोटको लागि महत्वपूर्ण मानिएको छ । विश्वकप छनोटसँगै यसको नतिजा एसियन कप छनोटका लागि पनि लागु हुने भएकाले नेपालको आँखा विश्वकप भन्दा पनि एसियन कप छनोटमा रहेको छ ।
नेपाल समूहका चौंथो स्थानमा रहेको छ । नेपाल समूहको उत्कृष्ट चारको रुपमा एसियन कपको तेस्रो चरणमा सिधै प्रवेश गर्ने दाउमा रहेको छ ।