‘आकस्मिक घरदैलो रक्तदान अभियान’ सञ्चालन गर्दै भक्तपुर रेडक्रस

‘रगत नपाए भक्तपुर जानु’ भन्ने उक्तिका साथ रक्त सञ्चार सेवा सञ्चालन गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले कोभिड महामारीको अहिलेको अवस्थामा रगतको सहज व्यवस्थापनका लागि ‘आकस्मिक घरदैलो रक्तदान अभियान’ सञ्चालन गरिरहेको छ ।
बढ्दो संक्रमणलाई रोकथाम तथा न्यूनिकरणका लागि बैशाख १६ गतेबाट गरिएको निषेधाज्ञादेखिनै ब्लड डोनर्स एशोसियसन (ब्लोदान), जिल्लामा रहेका नेपाल रेडक्रसका उपशाखाहरु, तथा अन्य सहयोगी संघसंस्थाको सहयोगमा उपत्यकाका तीनै जिल्लाको समुदायस्तरमै पुगी घरदैलो रक्तदान अभियान शुरु गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोज कुमार थापा बताउनुहुन्छ ।

सभापति थापाका अनुसार आकस्मिक घरदैलो रक्तदान अभियान सञ्चालनका लागि शाखाका मन्त्री परशुराम पाण्डेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । जसमा सुडाल उपशाखाका सभापति विदुर नेपाल, दुवाकोट उपशाखाका सभापति सोम प्रधान, नगरकोट उपशाखाका कार्यबहाक सभापति कल्पदिप खड्का, सिपाडोल उपशाखाका सभापति राकेश थापा, बालकोट उपशाखाका सभापति दिवाकर सिलवाल, दिव्यश्वरी उपशाखाकी निर्मला थापा, समाजसेवी नवराज काफ्ले र सदस्य सचिव उमा थापा रहनुभएको छ ।

रगतको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको सृजना नहोस् भन्नका लागि स्वयंसेवी रक्तदाता र संघसंस्थाको सहयोग एवं समन्वयमा आकस्मिक रुपमा घरदैलो मै पुगी रक्तदान गर्ने अभियान सञ्चालन गरिएको सभापति थापाको भनाई छ ।निषेधाज्ञाको अवस्थामा पनि दैनिक एक सय पचास जनाको हाराहारीमा रगत लिन भक्तपुर रक्तसञ्चार केन्द्रमा आउने गरेको अभियानका संयोजक एवम् मन्त्री पाण्डेले बताउनुभयो । “सबै घरभित्र हुनुहुन्छ, रक्तदान कार्यक्रम भएका छैनन, यो अवस्थामा रगतको व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ,” संयोजक पाण्डेले  भन्नुभयो, “हामी नियमित  रक्तदाताहरुलाई फोन गर्छौं । उहाँहरुले बोलाउनुभएपछि उहाँहरुको घरमै वा टोलमै पुगेर रगत संकलन गर्छौं ।”
सोही समयमा ती घरसँगै भएका अन्य रक्तदातालाई पनि अनुरोध गरी रगत संकलन गर्ने गरिएको संयोजक पाण्डेको भनाई छ । उहाँका अनुसार दोस्रो पटक शुरु भएको निषेधाज्ञादेखि अर्थात बैशाख १६ गतेदेखि हालसम्म ६३ स्थानमा रक्तदान कार्यक्रमहरु आयोजना भएका छन् ।

प्राविधिक र रक्तदाताको स्वास्थ्य सुरक्षामा सजग

रक्तदाता र रगत लिने प्राविधिकको स्वास्थ्य सुरक्षालाई पनि भक्तपुर शाखाले ध्यान दिएको सभापति थापाले बताउनुभयो । जिल्ला शाखाले रक्तदान कार्यक्रममा हिँडने प्राविधिक र एम्बुलेन्स चालकलाई माक्स, पञ्जा, स्यानीटाइजर लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको बताउँदै थापाले भन्नुभयो, “रक्तदाताहरुलाई तोकिएको दुरीमा राखेर एक पटकमा तिन जनासम्मको मात्रै रगत लिने गरेका छौं ।”

टोलटोलमा रक्तदान भन्ने नारा अव घरदैलोमा

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले अघिल्लो वर्ष कोभिड महामारीका कारण भएको लकडाउनको समयमा टोल टोलमा रक्तदान अभियान शुरु गरेको थियो । रगतको अभावलाई सहज र सरल तरिकाले उपलब्ध गराउन सकियोस भनेर सञ्चालन गरिएको टोल टोलमा रक्तदान अभियान बढ्दो कोभिड संक्रमणलाई ध्यान दिदै अझै सुरक्षित रुपले रक्तदान कार्यक्रम सञ्चालन गर्न यसवर्ष घरदैलो अभियान सञ्चालन गरिएको सुडाल उपशाखाका सभापति विदुर नेपालले  बताउनुभयो ।

रक्तदानका लागि आव्हान

निषेधाज्ञाको समयमा पनि रगतको अतिआवश्यक पर्ने बिरामीहरु हुने भएकोले सुरक्षित तवरले रक्तदान गर्नका लागि जिल्ला शाखा भक्तपुरले आव्हान गरेको छ । शाखाका सभापति थापाले भन्नुभयो, “तपाई घरभित्रै सुरक्षित रुपमा बस्नुहोस् । रक्तदानका लागि समय पुगेको भए वा अब शुरु गर्न चाहनुहुन्छ भने रक्तसञ्चार केन्द्र दुधपाटी भक्तपुर वा तपाईको नजिकै रहेको रेडक्रसका उपशाखालाई जानकारी गराउनुहोस् । हामी तपाईकै घरमा आएर रगत संकल गर्नेछौं ।”