भक्तपुरका श्रेष्ठद्धारा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा

भक्तपुर, मंसिर २२
नेपाली कांग्रेस भक्तपुरका महासमिति सदस्य मदनकृष्ण श्रेष्ठले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका श्रेष्ठले १४ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको हो ।
श्रेष्ठले यसअघि कांग्रेसको बागमति प्रदेशको उपभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको थियो तर अन्तिममा सहमतिका लागि उहाँले उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
मध्यपुर थिमि नगरपालिकाका प्रथम जननिर्वाचित नगरप्रमुख समेत रहनुभएका नेता श्रेष्ठ कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुनुहुन्छ । श्रेष्ठले नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा महासमिति सदस्यमा लोकप्रिय मत ल्याउनुभएको थियो ।