मल्लकालिन युद्धको झल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा सम्पन्न

भक्तपुर, असोज ३०
मल्लकालिन मध्यपुर थिमिको लायकु (दरवार) हालको आदर्श माध्यामिक विद्यालयको प्रांगण शनिवार दिउँसो स्थानीयको भिडभाड थियो । लायकुको मुलढोका जहाँ तलेजु भवानी रहेको छ, त्यहाँबाट सेतो जामाको पहिरन, टाउकोमा फेटा बाँधेर कोही दुई हात लामो तरवार, कोही खुँडा बोकेर बाहिर निस्कँदै थिए भने कोही फलाम सिक्रीसहितको टोपी लगाई एक हातमा ढाल र अर्को हातमा खड्ग बोकेर युद्धको मैदानमा जान हिँडेका मल्लकालिन सिपाही जस्तै देखिन्थे ।
मध्यपुर थिमिको यो दृष्यले केही छिनको लागि मल्लकालिन समयको झझल्को दिएको थियो । बडादशैंको ११ औं दिन पापांकुशा एकादशीको दिन मध्यपुर थिमिको लायुकबाट मल्लकालिन युद्ध झल्काउने ‘खाँ पिहाँवईगु’ जात्रा निस्कने गर्दछ, सोही जात्राको दृष्यले मल्लकालिन युद्धको झल्को दिएको हो ।


जात्राका क्रममा सिपाहिहरुले बाजाको तालमा आक्रमण भन्दै युद्धकला प्रस्तुत गर्दै नगरपरिक्रमा गरेका थिए । लायकुबाट निस्केको जात्रा नगरको निगुःपुखु, हुँदै दिगु भैलःद्यो मन्दिर घुमेर पुनः निगुःपुखुहुँदैं बालकुमारी मन्दिर पुगेको थियो । बालकुमारी मन्दिर परिसरमा पुगेर भुईफसी (कुभिण्डो)लाई मार हानेपछि जात्रा सकिएको थियो ।
नायोपमा (तलेजुको मुलपुजारी)ले भुईफसीलाई मार हानेपछि हातमा खुँडा, तरवार, खड्गसहितका सिपाहिहरुले भुईफसीलाई मार हानेर टुक्राटुक्रा पारेका थिए । यो जात्राको प्रमुख आकर्षण मध्ये एउटा सिपाहिहरुले प्रस्तुत गर्ने मल्लकालिन युद्धकला हो भने अर्को आकर्षण भुईफसी मार हान्ने दृष्य हो । भुईफसी मार हानेको दृष्य हेर्न बालकुमारी मन्दिर परिसरमा स्थानीयको भिड लागेको थियो ।


भुईफसीको टुक्रा खाएमा रोगव्याधी नलाग्ने जनविश्वास रहेको छ । त्यसैले भुईफसीको टुक्रा लिनेको तछाडमछाड हुने गर्दछ । जात्रामा राँगोको टाउकोलाई समेत नगरपरिक्रमा गराएको थियो ।
मल्लकालिन समयमा जहाँ दरवार रहन्छ, त्यहाँ तलेजु भवानीको मन्दिर रहेको हुन्छ । राँगोलाई महिषासुर राक्षसको प्रतिकको रुपमा महानवमीको दिन तलेजुलाई बली दिईन्छ । सो राँगोलाई स्थानीय भाषामा खःमेय भनिन्छ । सोही खःमेयको टाउको पनि खाँ पिहाँवईगु जात्राका क्रममा नगर परिक्रमा गराईने प्रचलन रहेको छ ।


मध्यपुर थिमिको खाँ पिहाँवईगु जात्रा तीन शताब्दी पुरानो भएको विश्वास गरिन्छ । तात्कालिन समयमा युद्ध जितेर आएका सिपाहिहरुको सम्मानमा यो जात्रा शुरु भएको विश्वास रहेको छ । सोही कारण यसलाई युद्धमा विजय उत्सवका रुपमा मनाउने चलन रहेको मध्यपुर थिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।


नगरप्रमुख श्रेष्ठले खाँ पिहाँवईगु जात्रालाई नगरको पर्यटनसँग जोडेर लैजाने बताउनुभयो । “नगरपालिकाले गन्तव्य मध्यपुर अभियान चलाई राखेको छ । यो जात्रालाई पनि प्रवद्र्धनगर्न नगरपालिकाले सहयोग गर्नेछ,” उहाँले भन्नुभयो ।
पछिल्लो समय जात्रा सञ्चालनमा आर्थिक अभाव भएको र सोही कारण युवाहरुको आकर्षण घट्न थालेपछि नगरपालिकाले आर्थिक सहयोग गर्न थालेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । नगरपालिकाले आर्थिक सहयोग प्रदान गर्न थालेसँगै जात्रामा युवाहरुको सहभागिता बढ्दो छ र जात्राको रौनकपनि बृद्धि हुन थालेको छ ।