नेवार समूदायले धुमधामले मनाए मोहनी नखाः

फाइल तस्विर

भक्तपुर, असोज २८
बडादशैंको नवौं दिन आज (बिहिवार) नेवार समूदायले मोहनी नखः धुमधामले मनाएका छन । घटस्थापनाको दिन घरघरमा नलस्वाँ (जमरा) राखेर शुरु भएको बडादशैंलाई नेवार समूदायले मोहनी नखःकोरुपमा मनाउँछन । महिषासुरलाई नवदुर्गा भवानीले सौन्दर्यको मोहनी लगाई आफ्नो वसमा पारी वध गरेको कारण नेवार समुदायमा दशैलाई मोहनी नखाः भन्ने गरिएको संस्कृतिकर्मीहरु बताउँछन ।
महानवमी मोहनी नखःको महत्वपुर्ण र विशेष दिन हो । नेवार समूदायले स्याक्वट्याक्वको रुपमा आफ्ना इष्टदेवको पुजा गरी गच्चे अनुसार बली दिएर मोहनी नखाः मनाए । आज बिहानैदेखी भक्तपुरका विभिन्न धार्मिक तिर्थस्थल, शक्तिपिठ र टोलटोलका मठमन्दिरहरुमा भक्तजनको भिड लागेको थियो । आ–आफ्ना ईष्ट देव, गणेश, देवी दुर्गा भवानी, भिमसेनलगायतका आफ्ना टोलका सबै देवी देवताको पुजार गरी बली समेत दिएका थिए । साथै आ–आफ्ना सवारी साधन, औजार, घरेलु हातहतियार, मेसिनरी सामानलगायतको पुजा गरी गच्छेअनुसारको बली दिएर शक्ति आर्जन गरेका थिए ।

फाइल तस्विर

मोहनी नखःमा नेवार समूदायले मोहनी टिका (विशेष खालको कालो टिका) तयार गरेर लगाएका थिए । दशैंमा तान्त्रिक विधिद्धारा पुजा गरी सली (माटोको सानो भाँडो)मा मोहनी तयार गरिन्छ । मोहनी तयार गर्न विशेष खालको भाँडोमा तेल हालेर दियो बालिन्छ, त्यस दियो माथी सली घोप्टो पारेर राखिन्छ । सली माथी पुजा गरिन्छ । यसरी सलीको भित्रि भागमा दियोको धुवाँ जम्मा भएर मोहनी टिका तयार हुन्छ ।