मुलुक पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्छ ः अध्यक्ष दाहाल

भक्तपुर, असोज २१
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनुभएको छ । माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठकलाई शुक्रवार सम्बोधन गर्दै दाहालले गरिवले निर्वाचनमा भाग लिन नसक्ने अवस्था आएकाले मुलुक पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्ने बताउनुभएको हो ।
उहाँले शासकिय स्वरुप र संविधान संशोधनका विषयमा पनि बहशमा लैजानुपर्नेमा जोड दिनुभयो । ‘मुलुक अब पूर्णसमानुपातिक निर्वाचनमा जानुपर्छ । हामी शासकिय स्वरुप र संविधान संशोधनको विषयलाई पनि अब बिस्तारै बहशमा उठाएर जनताको आधारभुत वर्गसँग नजिकबाट एकाकर हुने कुरा गर्दैछौं,’ उहाँले भन्नुभयो ।
उहाँले पार्टीको आगामी राष्ट्रिय सम्मेलनबाट विचारमा, राजनीतिमा, संगठनमा नयाँ ढंगले अघि बढेर आगामी निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने उद्घोष समेत गर्नुभयो ।
उहाँले आगामी निर्वाचनमा सहकार्यका लागि मित्रशक्ति खोजीरहेको खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान, संघिय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता स्वाधिनताको पक्षमा हुने पार्टीहरुसँग सहकार्य गर्ने भनेका छौं ।’ उहाँले अहिलेको गठबन्धनलाई त्यही सहकार्यको परिणाम भएको बताउँदैं यसलाई आगामी निर्वाचनसम्म लैजाने सहमति भएको खुलासा गर्नुभयो ।
अहिले हरेक पार्टीभित्रको समस्याको हल नेकपा माओवादी केन्द्रले गर्नुपरेको दावी गर्दै दाहालले राष्ट्रको नेतृत्व माओवादी केन्द्रले गर्नुको विकल्प नभएको बताउनुभयो ।
अध्यक्ष दाहालले संघिय गणतन्त्र, समानुपातिक निर्वाचन प्रणाली, समावेशीता र धर्मनिरपेक्षता माओवादी केन्द्रको एजेण्डा भएको स्पष्ट पार्दै विगतमा केही समय आफ्ना एजेण्डा भुलेर पार्टीले बाटो बिराउन खोजेकोले जनताले केही मत कम दिएपनि पुनः आफ्ना एजेण्डालाई जनतामा स्थापित गरेर अघि बढ्न निर्देशन दिनुभयो ।
उहाँले पार्टी कुनै डनवादबाट नडराउने बताउँदैं त्यस्ता डन, अन्याय, अत्याचार र अनियमितता गर्ने, जाली फटाहाहरुलाई लखेट्नु पर्ने र त्यसको शुरुवात भक्तपुरले गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुरमा नै छन रे, आफुलाई मै हुँ भन्ने डन । त्यस्तालाई हिजोका दिनमा लखेटेकै हो । फेरी पनि लखेट्न नडराउनुस ।’
उहाँले अखिल क्रान्तिकारी, वाईसीएल हिजोको जस्तो जुझारु बन्नुपर्ने र जनताको पक्षमा, लोकतन्त्रको पक्षमा काम गर्ने कुनैपनि दलका नेता कार्यकर्ता मित्र शक्ति हुने निर्देशन दिनुभयो । ‘विचार र इमानसहित जनताको पक्षमा राजनीति गर्नेलाई जुनसुकै पार्टीको भएपनि सम्मान गर्नु,’ उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले देशलाई समाजवाद तर्फ लैजान केपी ओलीको एमालेसंग एकता गरेको भएपनि उनी प्रतिगमनकारी कित्तामा उभिएकोले एकता लामो समय जान नसकेको आरोप लगाउनुभयो । ‘माओवादी केन्द्र पूरा इमान्दारीताका साथ एकताको पक्षमा रहेको भएपनि नियोजितरुपमा पार्टीलाई बिभाजन गराईंदा कम्युनिष्ट आन्दोलन कमजोर बनेको छ,’ उहाँले भन्नुभयो ।
निर्वाचन लगत्तै नेपाली कांग्रेसलगायतका दलहरुले ५ वर्ष सरकारको नेतृत्व गर्न गरेको आग्रहलाई लत्याएर बलियो कम्युनिष्ट पार्टी बनाएर समाजवाद तर्फ जाने लक्ष्यबाट आफू बिचलित नबनी पार्टी एकता गरेको खुलासा गर्दै दाहालले अहिले ती दलका नेतालाई प्रधानमन्त्री बनी दिन आग्रह गर्दै जबरजस्ती प्रधानमन्त्री पनि बनाउनुपर्ने बाध्यात्मक परिस्थित बनेको स्पष्ट पार्नुभयो । ‘परिस्थिति तपाईहरुको सामुन्नेमै छ, उतिबेला मलाई प्रधानमन्त्री अफर गर्ने नेतालाई यतिबेला हामीले नै बलजफ्ती गरेर प्रधानमन्त्री बनाउनुपर्यो,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगर कमिटीका संयोजक जीवन तज, मध्यपुर थिमीका संयोजक विजय श्रेष्ठ, चाँगुनारायणका संयोजक नरेश खड्का र भक्तपुरका संयोजक सुनिल गोथे बासुले समसामयिक राजनीति र संगठनका बिषयमा नगरभित्रको रिपोर्टिंग प्रस्तुत गरेका जिल्ला सदस्य युवराज आचार्यले बताउनुभयो ।
भक्तपुर इन्चार्ज दिलिप प्रजापति ‘भिष्म’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक डिपी ढकाल, ओम वाग्ले, केन्द्रीय सदस्य सूर्य सुवेदी पथिक, सह इन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकर, फ्याक्सन इन्चार्ज सुरेश न्यौपाने, प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ लगायतले समसामयिक राजनीति तथा पार्टीको आगामी रणनीति र कार्यदिशाबारे धारणा राखेका थिए ।