बजार अनुगमन – सेल्सबेरी, विगमार्ट र भाटभटेनीमा समेत अनियमितता

भक्तपुर, असोज २१
भक्तपुरका साना किराना पसलदेखी ठूला सेल्सबेरी, विगमार्ट र भाटभटेनी सुपर मार्केटले समेत उपभोक्तालाई ठगी गरेको पाईएको छ । विशेषगरी म्याद नाघेका वस्तु बिक्रि गर्ने, प्याकेटमा प्याकिङ गरेको मिति, उपभोग्य मिति र तौल उल्लेख नगरी बिक्रि गरेर उपभोक्ता अधिकारलाई कुण्ठित गर्ने गरेको पाईएको हो ।
नेपालको विद्यमान ऐन कानुनले गुणस्तरिय सेवा तथा वस्तुको उपभोग गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर बजार अनुगमनका क्रममा उपभोक्ताका त्यस्ता अधिकारीलाई बेवास्ता गरी मनलाग्दी तरिकाले दैनिक उपभोग्य वस्तुको बिक्रि वितरण भईरहेको पाइएको बजार अनुगमन टोली प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो ।
बडादशैं, तिहार, छठलगायतका ठूला चाडपर्वको अवसरमा अचाक्ली बढेको मूल्यबृद्धि नियन्त्रण गर्ने, कालोबजारी गर्नेलाई कारवाहीको दायरामा ल्याउने र बजारमा सहज र सरल आपुर्ती व्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
अनुगमनका क्रममा अनियमितता गर्ने व्यवसायीलाई नगद जरिवानाका साथै सुधारको लागि चेतावनी दिने गरेको सहायक प्रजिअ परियारले बताउनुभयो । उहाँले मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित सेल्सबेरी मार्टलाई २० हजार जरिवाना गरिएको जानकारी दिनुभयो ।


सेल्सबेरीमा अनुगमनका क्रममा म्याद गुज्रेका र कुहिएका मम, ससेसलगायतका मासुजन्य परिकार बिक्रिका लागि राखिएको पाईएको थियो । अनुगमन टोलीले ती वस्तु जफत गरी नष्ट गरिएको परियारले बताउनुभयो ।
त्यसैगरी लोहकिल्थलीकै विगमार्टमा पनि केही वस्तुमा लेवल स्पष्ट नभएकाले जफत गरिएको र अबदेखी लेवल स्पष्ट हुनेगरी राख्न निर्देशन दिनुका साथै चेतावनी दिएर छाडिएको परियारले बताउनुभयो ।
अनुगमनका क्रममा स्थानीय तहका जनप्रतिनिधिले समेत उपभोक्ता अधिकारलाई बेवास्ता गरेको पाईएको परियारले बताउनुभयो । मध्यपुर थिमि–४ का वडासदस्य सुन्दरलाल श्रेष्ठले सञ्चालन गरेको सुन्दर मसला उद्योगले लेवल नराखी मसला प्याकेट गरेर बिक्रि वितरण गरेको पाईएको थियो । उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति समेत नलिई जिरा, बेसार, खुर्सानीलगायतका मसला प्याकेट गरी बिक्रि वितरण गरिरहेको पाईएकोले एक पटकलाई चेतावनी दिएर यथासिघ्र कानुनी प्रक्रिया पुरा गरी उद्योग सञ्चालन गर्न निर्देशन दिएको परियारले बताउनुभयो ।
अनुगमनका क्रममा दैनिक अतिआवश्यकीय वस्तुमा पर्ने दुधजन्य पदार्थमा समेत हेल्चेक्र्याइ गरी मानव स्वास्थ्यमा गम्भिर खेलवाड गरेको पाईएको परियारले बताउनुभयो ।


मध्यपुर थिमि–३ सुन्दरबस्तीस्थित चण्डेश्वरी डेरीले दुधमा अखाद्यय वस्तु मिसावट गर्ने गरेको, कम तौल राखी दुधजन्य वस्तु बिक्रि वितरण गरिरहेको, दुधको फ्याट जाँच गर्ने नगरेको, दुधजन्य पदार्थमा लेवल नराखेको, म्याद नाघेका वस्तु बिक्रि वितरण गरिरहेको पाईएको थियो । अनुगमन टोलीले सो डेरीलाई तत्काल १० हजार जरिवाना गरिएको परियारले जानकारी दिनुभयो ।
यसअघि गत असोज ..गते भक्तपुर सेल्सबेरीलाई ५ हजार जरिवाना गरिएको थियो भने राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई ५० हजार जरिवाना गरिएको थियो ।
प्रशासनले बजार अनुगमनलाई तिब्रता दिएपछि उपभोक्ता र व्यवसायीहरुमा सचेतना बृद्धि भएको नागरिक समाज सञ्जाल भक्तपुरका संयोजक एवम् नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधानले बताउनुभयो । उहाँले अनगुमनलाई चाडपर्व लक्षित मात्र नगरी वर्षैभरी निरन्तर गरिराख्नुपर्ने सुझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बजार अनुमगनलाई आकस्मिक र योजनावद्ध गरी दुई तरिकाले निरन्तरता दिने बताउनुभयो । उहाँले चाडपर्वका बेला आवश्यकता अनुसार आकस्मिकरुपमा अनगुमन गर्ने र अन्य बेलापनि तालिका नै बनाएर बजार अनुगमनलाई निरन्तरता दिई उपभोक्ताको अधिकारको रक्षा गर्ने बताउनुभयो ।
उहाँले नागरिक समाजले पनि स्वस्पुर्तरुपमा बजार अनुगमन गर्ने र उपभोक्ताहरुलाई सचेत पार्ने कार्य गर्न आग्रह गर्दै त्यस्ता कार्यमा प्रशासनले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
सहायक प्रजिअ परियार नेतृत्वको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका उमेशकुमार दाहाल, जिल्ला प्रशासन कार्यालयका अधिकृत लुमा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग वाणिज्य संघका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कौशल ओझा, नेपाल गुणस्तर तथा नापतौल विभागका पवन चन्द, सूर्यविनायक नगरपालिकाका सुरज पौडेल, मध्यपुर थिमि नगरपालिकाका धनकृष्ण श्रेष्ठ, महानगरिय प्रहरी परिसर भक्तपुरका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ ।