बडादशैंमा भक्तपुरको तलेजुभित्र बली पुजा नहुने

भक्तपुर, असोज १९
बडादशैंको अवसरमा भक्तपुर दरवारस्क्वायरस्थित तलेजु मन्दिरभित्र बली पुजा नहुने भएको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलवार बसेको सरोकारवालाहरुको बैठले कोरोनाको संक्रमण घट्दै गएपनि जोखिम पूर्णरुपमा नहटेको निष्कर्ष निकाल्दै तलेजुमा बली पुजा नगर्ने निर्णय गरेको हो ।
“दशैंमा तलेजुमा पुजारीबाट आवश्यक पुजा मात्र गर्न दिने निर्णय गरेका छौं,” बैठकपछि नगरप्रमुख प्रजापतिले भन्नुभयो ।
दशैंलाई सुरक्षित रुपमा मनाउन शान्ति सुरक्षाको व्यवस्थापन चुनौतीपूर्ण हुने बताउँदैं नगरप्रमुख प्रजापतिले पूजाआजा नरोक्ने, भीडभाड हुन नदिने, सामाजिक दुरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी मनाउन जनतालाई अह्वान गर्ने जानकारी दिनुभयो ।
बैठकले घटस्थापनादेखि विजयादशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरुलगायत धार्मिक स्थलहरुमा हुने मेला, पूजा र नवरात्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दुरी कायम गरी कोभिड १९ रोगको संक्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरबासीहरुलाई आह्वान गर्ने निर्णय भएको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।
साथै उक्त बैठकले विजया दशमीको अवसरमा हुने सम्पूर्ण पूजाआजा, मेला, धार्मिक र सांस्कृतिक गतिविधि हुने सबै स्थानहरुमा शान्ति सुरक्षा र अन्य आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन, प्रहरी, वडा कार्यालय र स्थानीय टीम क्लबहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चाडपर्वमा कोभिड फैलने जोखिम बढी भएको बताउँदैं स्थानीय तह, प्रशासन, प्रहरी प्रशासन र विभिन्न संघ संस्थाको संयुक्त प्रयासबाट दशंै शान्तिपूर्ण र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरुको सहभागिता रहेको थियो ।