नागरिक समाज सञ्जालले प्रजिअ शर्मालाई बुझाए चार बुँदें ध्यानाकषर्ण पत्र

भक्तपुर, असोज १९
भक्तपुर नागरिक समाज सञ्जालले मंगलवार प्रमुख जिल्ला अधिकारीलाई चार बुँदें ध्यानाकषर्ण पत्र बुझाएका छन । नेपाल बार एसोशियसन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधान नेतृत्वको सञ्जालले प्रजिअ रुद्रादेवी शर्मालाई बजार अनुगमन, सुशासन, शैक्षिक संस्था र शान्ति सुरक्षा सम्बन्धमा ध्यानाकषर्ण बुझाएको हो ।
ध्यानाकषर्ण पत्रमा नजिकिँदै गरेको चाडपर्वहरुमा हुने कालोबजारी नियन्त्रण गरी नागरिकको गुणस्तरीय सेवा तथा वस्तुको उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न नागरिक समाजको सहभागिता सहितको बजार अनुगमनलाई चाडपर्व लक्षित मात्र नगरी निरन्तर सञ्चालन गर्नुपर्ने, लामो समय कोभिडका कारण अवरुद्ध शैक्षिक संस्था खुल्न थालेको अवस्थामा विद्यालयका स्वास्थ्य मापदण्डको पालनाको अवस्थाको अनुगमन गरी व्यवस्थित गर्नुपर्ने उल्लेख गरिएको छ ।


त्यसैगरी राज्यका निकायमा नीजि स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग नहोस भन्नाका लागि पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर सार्वजनिक सेवा प्रवाह भए नभएको अनुगमन गर्ने र चाडपर्वको समयमा हुने सक्ने अपराधिक क्रियाकलाप चोरी, लुटपाट, झैं झगडा, ठगी जस्ता कार्यहरुलाई नियन्त्रण गर्न नागरिक समाज संघ संस्थाहरुसँग समन्वय र सहकार्य अभिबृद्धि गरी शान्ति सुरक्षा कायम गरियोस भन्ने बारे नागरिक समाजले प्रजिअ शर्मालाई ध्यानाकषर्ण गराएको हो ।
सो अवसरमा प्रजिअ शर्माले नागरिकको अधिकारको रक्षाको सवालमा नागरिक समाज र प्रशासनको उद्देश्य एउटै भएकोले सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नागरिक समाज सञ्जालले उठाएका चार वटै बुँदालाई कार्यान्यनको तहमा लगिएको जानकारी गराउँदैं त्यसको थप प्रभावकारिताको लागि सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य बढाउने बताउनुभयो ।
उहाँले जिल्लामा लागु औषधका अपराधका घटनामा बृद्धि भइरहेको पाईएकोले यसको नियन्त्रणका लागि विशेष योजना निर्माण गरी अघि बढीरहेको जानकारी दिनुभयो । बजार अनुगमनलाई थप व्यस्थित गरी नियमित सञ्चालन गर्ने जनाउँदैं उहाँले प्रशासनको आँखा नपुगेका वा प्रशासनबाट भए गरेका कमी कमजोरी औंल्याईदिन सञ्जाललाई आग्रह गर्नुभयो ।
सो अवसरमा बारका अध्यक्ष प्रधान, गैसस महासंघ, नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ,नेपाल रेडक्रस सोसाईटी भक्तपुर, मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।