साफ च्याम्पियनसिप २०२१ – दोस्रो जितसँगै नेपाल शिर्षस्थानमा

भक्तपुर, असोज १९
नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जितसँगै समूहको शिर्ष स्थानमा उक्लेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सोमवार राती सम्पन्न खेलमा नेपाल श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै समूहको शिर्ष स्थानमा उक्लेको हो ।
नेपालको जितमा सुमन लामा, आयुष घलान र अञ्जन बिष्टले गोल गरे भने श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए । जितसँगै नेपालको दुई खेलबाट ६ अंक भएको छ । समूहमा शिर्ष स्थानमा रहेको छ ।
भुटानले कोरोना प्रोटोकलका कारण नाम फिर्ता लिएपछि पहिलो पटक राउण्ड रोविन लिग आधारमा खेलाईएको प्रतियोगितमा बंगलादेश समूहमा दोस्रो स्थानमा रहेको छ । बंगलादेशले दुई खेलबाट ४ अंक बटुलेको छ । उसले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो भने सोमवार राती सम्पन्न पहिलो खेलमा १० खेलाडीमा सिमित बंगलादेशले भारतलाई १–१ गोलमा रोकेको थियो । समूहमा भारत १ अंकसहित तेस्रो स्थानमा छन भने माल्दिभ्स र श्रीलंका अंक विहिन छन ।


नेपालले श्रीलंका विरुद्ध उत्कृष्ट प्रदर्शन गरे । खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गर्दै नेपाललाई दवाबमा राखे । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो । रोमाञ्चक बनेको खेलको ३३ औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो । नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बलमा डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरेका थिए ।
खेलको ५२ औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका आयुष घलानले बायाँ विंगमा दुई डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रबाट दिएको कटब्याकमा नवयुगको पहिलो प्रहार सफल भएन । उक्त प्रहारपछि आएको रिबाउन्डमा अन्जनले सहजै गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका हुन ।
नेपालले अग्रता दोब्बर पारेको केही बेरमै श्रीलंकाले गोल फर्कायो । खेलको ५६ औं मिनेटमा श्रीलंकाका मार्विन ह्यामिल्टनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भयो र खेल २–१ को स्थितीमा पुग्यो ।


खेलको ८६ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई जित नजिक पुर्याए । आयुषले तेज तामाङको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलरक्षक सुजनलाई चिप गर्दै नेपाललाई ३–१ ले अघि बढाएका थिए । इन्ज्युरी समयमा श्रीलंकाले पेनाल्टी पाए । डिलन डे सिल्भाले पेनाल्टीमा गोल गर्दै श्रीलंकालाई खेलमा फर्काउन प्रयास गरेपनि त्यो पर्याप्त रहेन र नेपालले महत्वपूर्ण जित निकाल्यो ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्ध पहिलो खेलमा जित हासिल गरेको टोलीबाट २ परिवर्तन गरेका थिए । प्रशिक्षक अलमुताइरीले पहिलो खेलको तुलनामा आक्रामक परिवर्तन गर्दै दीनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा समेटेका थिए ।