भक्तपुर नगरपालिकाद्वारा ९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

भक्तपुर, असोज १४
भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८÷७९ मा कक्षा ११ मा अध्ययनरत ९८ जना विद्यार्थीलाई बिहिवार छात्रवृत्ति प्रदान गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख एवम् छात्रवृत्ति छनौट समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालयहरुलाई संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ अनुसार शैक्षिक सत्र २०७८÷७९ मा छनोट भएका विद्यार्थीहरुलाई छात्रवृत्ति छनोट सिफारिस पत्र प्रदान गरेको हो ।
भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित ख्वप मावि, बागीश्वरी मावि, बासु मावि, श्री पद्म मावि, आदर्शआजाद मावि, शारदा मावि र शारदा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विज्ञान विषयका ३५ जना, व्यवस्थापन विषयका ४८ जना, कानुन विषयका ४, शिक्षा विषयका ६ जना र मानविकी विषयका ५ जना गरी ९८ जना विद्यार्थीहरुलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो ।


कार्यक्रममा प्रमुख प्रजापतिले विद्यार्थीको आचरण, व्यवहार र संस्कारले सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउँदैं विद्यार्थीहरुमा देश र समाजको निम्ति काम गर्ने भावना हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि सहुलियत दरमा शैक्षिक ऋण प्रदान गर्नुका साथै इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र, भाषालगायतका विषय अध्ययन गर्ने विद्यार्थीहरु छात्रवृत्ति प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न नपाले सातवटा कलेज सञ्चालन गरिरहेको र जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष एवम् छात्रवृत्ति छनौट समितिका सदस्य उकेश कवांले विद्यार्थीहरुले आफ्नो लक्ष्य र उद्देश्य पूरा गर्न मेहेनतका साथ अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भक्तपुरको शैक्षिक विकासमा नपाबाट सञ्चालित कलेजहरुको विशेष योगदान रहेको बताउनुभयो ।


भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र र शैक्षिक गन्तव्यस्थल बनाउने उद्देश्यमा विद्यार्थीहरुले आफ्नोतर्फबाट भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
ख्वप माविका प्रधानाध्यापक प्रकाशकुमार धौबजी श्रेष्ठले छात्रवृत्ति पाएका विद्यार्थीहरुले सार्थकताका साथ अध्ययनमा जोड दिँदै सामुदायिक भावना उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् छात्रवृत्ति छनौट समितिका सदस्य रबिन्द्र ज्याख्व र नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यलगायतले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले नगरपालिकाले छात्रवृत्ति कार्यक्रम अघि बढाएको बताउनुभयो ।