नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा जाग्नु चिन्ताको विषय – अध्यक्ष बिजुक्छें

भक्तपुर, असोज ११
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा जाग्नु चिन्ताको विषय भएको बताउनुभएको छ । विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले आयोजना गरेको साँस्कृतिक गुरु सम्मान र पथप्रदर्शकलाई प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष बिजुक्छेंले राजनीतिक अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।
उहाँले नयाँ पुस्तालाई राजनीतिमा सक्रिय बनाउन राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृतिजस्ता विषयको महत्वबारे विद्यार्थीहरुलाई जानकार गराउनुपर्ने र सरकारले यस्ता महत्वपूर्ण विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययन अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगरका २० जना साँस्कृतिक गुरुहरुलाई सम्मान गर्दै बिजुक्छेंले साँस्कृतिक गुरुहरुको ज्ञान, विवेक र सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरको कला, संस्कृति र भाषा स्थानीय व्यक्तिहरुलाई सिकाउँदै लानुपर्ने आवश्यकता औंल्याउनुभयो ।


नयाँ तथा आधुनिक घर निर्माण गर्दा पु¥याउनुपर्ने सावधानीबारे जनतालाई सचेत पार्नुपर्ने बताउँदैं अध्यक्ष बिजुक्छेँले नगरबासीहरुलाई नक्सा बमोजिम घर निर्माण गराउनेतर्फ जोड दिनुभयो ।
कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाले कला र संस्कृति संरक्षणका विभिन्न विधाका स्थानीय सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो । प्रमुख प्रजापतिले भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा पुनःनिर्माणका कार्य करिब करिब अन्तिम चरणमा पुगिसकेको जानकारी दिँदैं जनताको साथ र सहयोग रहेका कारण स्वाभिमानीपूर्वक नगरपालिकालाई अगाडि बढ्न मद्दत पुगेको बताउनुभयो ।
उहाँले भक्तपुरको कला सँस्कृतिलाई जीवन्त बनाउन विभिन्न कालखण्डमा नेपालबाट हराएका वा चोरी भएका मूर्तिहरु फिर्ता गर्न आवश्यक पहल गरिरहेको बताउनुभयो ।


नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले मौलिक भाषा, कला र संस्कृति संरक्षण गर्दै नयाँ पुस्तालाई आवश्यकताबोध गराउनुपर्ने बताउनुभयो । सांसद गोसाईंले हाम्रो संस्कृतिलाई जीवन्त बनाउँदै लानुपर्ने र आफ्नो विधाको सीप र ज्ञानलाई लिपिबद्ध गर्न सके हाम्रो कला र संस्कृति संरक्षण हुँदै जाने बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले कोभिड महामारीका कारण भक्तपुर नगरपालिकामा पर्यटन शुल्कबाट हुने आम्दानी झण्डै शून्यमा झरेको बताउनुभयो ।
संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपाल मण्डलको अन्य सहरले भन्दा भक्तपुरले सांस्कृतिक गरिमा कायम गर्दै आएको बताउनुभयो । भक्तपुरलाई खुला आकासमुनिको खुला संग्रहालयको रुपमा चित्रण गर्नुहुँदै उहाँले विश्वविद्यालयहरुमा संस्कृति विषय अध्ययन गर्ने विद्यार्थीहरुको संख्या घट्नुमा चिन्ता प्रकट गर्नुभयो ।
उहाँले पथ प्रदर्शकहरुले भक्तपुरका सम्पदाहरुबारे पत्ता लागेको नयाँ नयाँ तथ्य पर्यटकहरुमाझ वैज्ञानिक ढंगले प्रस्तुत गरी संसारसामु भक्तपुरलाई जोड्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सांस्कृतिक गुरुहरुलाई जनही १५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गर्नुभयो । साथै सांस्कृतिक गुरुहरुलाई प्रमुख प्रजापतिले दोसल्ला ओढाउनुभयो र उपप्रमुख जोशीले साँस्कृतिक गुरुहरुलाई पूmलमाला लगाइ सम्मान गर्नुभयो ।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले विश्व पर्यटन दिवसको अवसरमा आयोजित टुर गाईड तालिमका सहभागी स्थानीय पथ प्रदर्शकहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भने सम्मानित सांस्कृतिक गुरुहरुको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो ।
सम्मानित हुने सांस्कृतिक गुरुहरुमा भनपा वडा नं. १ का गोविन्द भुजु र विकुबहादुर दुवाल, वडा नं. २ का विष्णुभक्त सुवाल र लक्ष्मीभक्त कुस्मा, भनपा ३ का लक्ष्मीप्रसाद मानन्धर र गणेशबहादुर त्वायना, भनपा ४ का मंगलाल ग्वाछा र लक्ष्मीभक्त घेमोसु, भनपा ५ का रामलाल माक र रत्नभक्त ध्वजु, भनपा ६ का विष्णु सुवाल र विष्णुभक्त सिजख्व, भनपा ७ का दिलबहादुर त्यात र इन्द्रबहादुर लाखा, भनपा ८ का बुद्धिसागर प्रजापति र रामभक्त गणेजु श्रेष्ठ, भनपा ९ का विष्णुभक्त कुसी र मानबहादुर चोलेखो, भनपा १० का हरिभक्त मगजु र शिवभक्त वनमाला रहेका छन् ।