महाधिवेशन पार्टीका लागि उत्सव – सभापति थापा

भक्तपुर, असोज २
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुलर्भ थापाले पार्टीको महाधिवेशनलाई उत्सवको संज्ञा दिँदैं महाधिवेशनले पार्टीलाई मूल्य मान्यतामा चल्ने संगठित पार्टीकोरुपमा स्थापित गराउनुपर्नेमा जोड दिनुभएको छ ।
ऐतिहासिक जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर, सर्वमान्य नेता एवम् लौहपुरुष गणेशमान सिंहको २४ औं स्मृति दिवसको अवसरमा शनिवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले पार्टी कार्यालयमा आयोजित माल्यार्पण कार्यक्रममा सभापति थापाले अधिवेशनमा आ–आफ्नो टिम, समूह लिएर अघि बढ्दा कसैलाई विस्थापित गर्ने ढंगले अघि बढ्ने कोशिष गर्नुभन्दा सबैलाई स्थापित गरेर मुल्य मान्यतामा संगठित भएर अघि बढ्ने कांग्रेस निर्माण गर्नुपर्ने बताउनुभएको हो ।
प्रजातन्त्रका पिता, त्याग, निष्ठा र साहसका प्रतिनिधि स्व. सिंहलाई साक्षी राखी हुन गइरहेको १४ औं महाधिवेशनको कार्यतालिका अघि बढीरहेको चर्चा गर्दै सभापति थापाले गणेशमान जतिको नभएपनि त्यस्तै त्यस्तै अवस्थामा त्याग र समर्पणकासाथ भक्तपुरका ३८ मध्ये ३४ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरी अधिवेशन सम्पन्न भएको बताउनुभयो ।


उहाँले गणेशमानले पार्टी छोड्ने परिस्थिती निर्माण हुनुमा आम कार्यकर्ता पनि दोषी रहेको बताउनुभयो । “प्रजातन्त्रका पिता, साहस, त्याग, निष्ठाका प्रतिनिधि यही पार्टीमा रहँदा रोएर पार्टी छोड्नु परेको परिस्थिती छ । गणेशमान जस्तो प्रजातन्त्रका पितालाई पार्टी छाड्न बाध्य पार्ने परिस्थिती तपाई हामी जस्ता आम कार्यकताहरुले नै बनाएको हो,” उहाँले भन्नुभयो । उहाँले पार्टीमा मूल्य मान्यता र त्यागको लागि गणेशमानजीले पुर्याएको योगदानलाई धेरै चर्चा र परिचर्चा गर्नुभन्दा त्यसलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीमा आफु नेतृत्वमा रहँदा सबै कुरा ठिक, बाहिर बस्दै गर्दा सबै कुरा बेठिक भन्ने परिपार्टीले अहिले पार्टी कमजोर बनेको र पार्टीको साख दिनप्रतिदिन गिर्दै गइरहेको टिप्पणी गर्नुभयो । उहाँले चार चार वर्षमा आउने अधिवेशनले पार्टीलाई पुनर्ताजगी दिने बताउँदैं यसलाई उत्सवकोरुपमा लिनुपर्ने बताउनुभयो ।


पार्टीका १४ औं अधिवेशनमा जुन रुपले नेतृत्वको प्रतिष्पर्धामा नेताहरु लागेका छन, त्यही ढंगले स्वच्छ प्रतिष्पर्धा हुने विश्वास व्यक्त गर्दै सभापति थापाले सहमतिको लागि बाधक नबन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक प्रक्रिया र पद्धती त छँदैछ, तमाम नेता कार्यकर्तालाई सर्वसहमतिको साथ अघि बढ्न आह्वान गर्दछु । सबै साथीहरु मिलेर जाने र एउटा मात्र उम्मेदवार हुने अवस्था आए फेरी पनि भन्छु पार्टी सभापति दुर्लभ थापा बाधक बन्दैन ।
भक्तपुरमा पार्टीभित्र मोर्चाबन्दी गरी आफुलाई नेतृत्वबाट विस्थापित गर्ने रणनीति बन्दै गरेको सूचना प्राप्त भएको भन्दै थापाले आफुलाई विस्थापित गरेर देखाउन चुनौती दिनुभयो । उहाँले कसैलाई विस्तापित गर्न भन्दा पार्टीलाई स्थापित गर्न मोर्चाबन्दी गर्न आग्रह गर्नुभयो । “दुर्लभ थापालाई भक्तपुरको पार्टी नेतृत्वबाट विस्तापित गर्न साथीहरु मोर्चाबन्दी भइरहेको छ भन्ने सुन्दैछु । मोर्चाबन्दी थापालाई विस्थापित गर्न होइन नेपाली कांग्रेसलाई स्थापित गर्न केन्द्रीत गर्नुस् ।”
उहाँले पार्टीले ४८ सालदेखी एउटै अनुहारलाई उम्मेदवार उठाउँदै आएको चर्चा गर्दै अहिलेको युवा पुस्ताले पुरानो अनुहारलाई स्विकार गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब हुने चुनावमा पनि त्यही अनुहारको उम्मेदवार युवाहरुले खोजीरहेको पक्कै छैन ।”


उहाँले पार्टी कसैको नेतृत्वमा भन्दा मुल्य, मान्यता र विचारले चल्ने बताउनुभयो । “पार्टीको नेतृत्वमा हिजो को थियो, आज को छ र भोली को हुने हो त्यो ठूलो होइन, पार्टी कुन विचारले चल्ने हो, मुल्य र मान्यताले चल्ने हो, त्यो महत्वपुर्ण हो ।
उहाँले २००७ सालदेखी ०६२÷०६३ सालसम्मको लोकतान्त्रिक आन्दोलनदेखी वर्तमान संविधानलाई व्यवस्थित गर्नसम्म नेपाली कांग्रेसले नेतृत्व गरेको चर्चा गर्नुभयो ।
उहाँले नेकपा एमालेसँग कुनै नीति, मुल्य मान्यता र विचार नभएको आरोप समेत लगाउनुभयो । उहाँले जनताले मुलढोकाबाट सत्तामा पु¥याएको नेकपा एमाले झ्यालबाट भागेको बताउनुभयो । “नेपाली जनताले दुई तिहाइ बहुमत दिई सकेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकिकरण बनेको नेकपाले जनताको भावना अनुसार काम गर्न नसक्दा नेपाली जनताले मुलढोकाबाट सत्तामा छिराएको नेकपा एमाले झ्यालबाट बाग्न बाध्य भयो । नेकपा एमालेसँग कुनै नीति मुल्य मान्यता र विचार छैन ।”
उहाँले भक्तपुरको कटुञ्जेस्थित गणेशमान बाटिकामा निर्माण भएको गणेशमानको शालिक बेवारिसे जस्तै बनेको टिप्पणी गर्दै छिट्टै अनावरण गर्नुपर्नेमा जोड दिनुभयो । “जनआन्दोलन दिवस पारेर शालिक अनावरण गर्नेगरी समिति हस्तान्तरण गरेका थियौं । वेवारिसे अवस्थामा पुगेको शालिकलाई गणेशमान सिंहको जन्म जयन्तीको अवसर पारेर अनावरण गरेर संरक्षण गर्न आग्रह गर्छु । जन्म जयन्ती, जनआन्दोलन दिवस र स्मृति दिवसमा शालिकमा माल्र्यापर्ण गर्ने व्यवस्थाका लागि हर ढंगले सहयोग गर्न तयार छु” उहाँले भन्नुभयो ।
उहाँले बाटिकालाई पार्टीको अमूक गुटको बैठक भेला गर्ने थलो बनाएको भन्दै आलोचना समेत गर्नुभयो । उहाँले भन्नुभयो, “बाटिका पार्टीका कुनै गुटको भेला बैठक गर्ने थलो बनेको छ, हामीले त्यो बाटिका कुनै पार्टी, गुट उपगुट र विचार समूहको राजनीति गर्ने ठाउँ बनाउनको लागि स्थापना गरेका होइनौं ।”