बाबुनाथको अध्यक्षतामा माओवादी केन्द्रको मध्यपुर थिमि ५ नं. वडा कमिटी गठन

भक्तपुर, असोज १
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भक्तपुरका स्थानीय तहको वडा वडामा संगठन बिस्तारलाई तिव्रता दिएको छ । यसैक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ५ मा वडा कमिटी गठन गरेको छ ।
माओवादी केन्द्रको बिहिवार सम्पन्न मध्यपुर थिमि वडा नं. ५ को भेलाले स्थानीय नेता बावुनाथ प्रजापतिको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी र सुनिल श्रेष्ठ छुँ को अध्यक्षतामा २१ सदस्यीय वाइसिएल वडा कमिटी गठन गरेको हो ।
भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा (एमाले)का केही नेता चुनाव चिह्न सूर्यको मोहमा के पी शर्मा ओली शरण पुगेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “नेकपा एमालेसँग केही बाँकी छ भने त्यो चुनाव चिह्न सूर्य मात्र बाँकी छ । माक्सवादी विचारक भनिएका नेता घनश्याम भुसाल र आशा गरिएका युवा नेता योगेश भट्टराई जस्ता नेताहरुले पनि सूर्यको लोभमा फसे ।”
नेकपा (एमाले)संगको एकता समाजवादी क्रान्ति पूरा गर्ने उदेश्यले गरिएको जिकिर गर्दै नेता दाहालले केपी ओलीको इगोको कारण पार्टी विभाजित बनेको आरोप लगाउनुभयो । “प्रचण्ड परिवर्तनको नायकको रुपमा रहेको ओलीलाई पटक्कै मन नपरेको थिएन । प्रचण्ड भन्दा माथिल्लो नेता बन्ने इगोले ओली इतिहासमा खलपात्रको रुपमा उदाएको छ,” उहाँले भन्नुभयो ।
उहाँले ओलीले दुई दुई पटक संसद विघटन गरेर लोकतान्त्रिक गणतन्त्र नै विघटन गर्न खोजेको आरोप लगाउनुभयो । “ओलीले दुई दुई पटक संसद बिघटन गरेर प्रतिगमन मात्र गरेनन, संघीय लोकतान्त्रिक गणतन्त्रकै बिघटन गर्न प्रयास गरे,” उहाँले भन्नुभयो ।


कार्यक्रममा अर्का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले एमालेलाई कम्युनिष्ट पार्टी बनाउन पार्टी एकता गरिएको भएता पनि ओलीले रुप बदल्न नचाहँदा एमाले एक्लिएको जिकिर गर्नुभयो । एमालेसँग एकतामा धोका भएको भन्दै उहाँले सम्पूर्ण कम्युनिष्टहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउने उदेश्य यथावत रहेको बताउनुभयो ।

माओवादी केन्द्रकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था स्थापना भएको दावी गर्दै उहाँले अबको कार्यदिशा राष्ट्रिय पूँजीपति वर्गको नयाँ ढंगले रक्षा गर्दै समाजवादी व्यवस्था तर्फ उन्मुख रहेको जानकारी दिनुभयो ।
पार्टीका बागमती प्रदेश सचिवालय सदस्य एवं भक्तपुरका अध्यक्ष डिपी ढकालले माओवादी केन्द्रले राजनीतिक मात्र नभई देशमा आर्थिक सामाजिक रुपान्तरण गरेको दावी गर्नुभयो । आफ्नो पार्टीका कारण उत्पीडनमा पारिएका नागरिकले समान अवसर पाएको बताउँदैं उहाँले सबैखाले विभेदको अन्त्य गर्ने पार्टी माओवादी केन्द्र नै भएको दावी गर्नुभयो ।
अध्यक्ष ढकालले माओवादी केन्द्र छोडेर अन्य पार्टीमा जानुलाई आफै माथि गरिने धोकाको संज्ञा दिनुभयो । उहाँले अन्य पार्टीमा गएका नेता कार्यकर्ताहरुलाई मुल पार्टीमा फर्किन आह्वान गर्दै भन्नुभयो, “बाटो बिराएर गन्तव्यमा पुग्न सकिँदैन । अन्य पार्टीमा गएकालाई घर फर्कन आह्वान गर्दछु । कम्युनिष्ट पार्टीको झण्डालाई सिंगान पुस्ने टालो बनाउनेहरुको पछि लागेर कम्युनिष्ट आन्दोलन कमजोर पार्नु हुँदैन ।”
बागमती प्रदेश सचिवालय सदस्य एवं बागमती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले आफूले प्रदेश सरकार मार्फत थिमिको विकास निर्माणका योजनाहरुमा बजेट व्यवस्था गरिरहेको जानकारी दिनुभयो ।
मध्यपुर थिमि जनयुद्धको कठिन अवस्थामा समेत पार्टीको आधार इलाकाको रुपमा रहेको स्मरण गर्दै उहाँले उतिबेला केन्द्रीय भेलाहरु थिमिमा सफलातापूर्वक सम्पन्न गरिएको बताउनुभयो ।

कार्यक्रममा मध्यपुर थिमिका नगर इन्चार्ज कृष्णलाल गोजा र नगर अध्यक्ष विजय श्रेष्ठले पार्टीको सांगठनिक अवस्था बारे जानकारी दिनुभएको थियो । कार्यक्रममा वाइसिएलका केन्द्रीय सदस्य दिनेस थपलिया, नेतृ जगतमाया प्रजापतिलगातले पार्टीलाई कमजोर बनाउन खोज्नेहरुलाई वाइसिएलले छुट नदिने बताउनुभयो ।