लोप हुने अवस्थामा पुगेको सूर्यविनायक जात्रा यसवर्ष पुनः सञ्चालन

भक्तपुर, भाद्र २५
गणेश चतुर्थीको अवसरमा दशकौंपछि भक्तपुरको सूर्यविनायक गणेशको जात्रा यसवर्ष पुनः सञ्चालन भएको छ । करिव करिव लोप हुने अवस्थामा पुगेको यो जात्रा सूर्यविनायक नगरपालिका वडा नं. ८ र ६ को अग्रसरतामा यसवर्ष पुनः सञ्चालनमा आएको हो ।
गणेश चतुर्थीको अवसरमा मनाईने यो जात्रा सञ्चालन नभएको पाँच दशक भन्दा बढी भइसकेको स्थानीय बताउँछन । हरेक वर्ष गणेश चतुर्थीको दिन सूर्यविनायकको जन्मोत्सवको रुपमा गणेशलाई खटमा राखी सिन्दर छर्कदैं नगर परिक्रमा गरी मनाईने यो जात्रालाई यसवर्ष सूर्यविनायक मन्दिर व्यवस्थानका लागि गठित सूर्यविनाक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लबले जात्रालाई निरन्तरता दिएको हो ।
सूर्यविनायक मन्दिरको प्रांगणबाट शुरु भएको जात्राका क्रममा खटलाई स्थानीय तीनधारा, पिपलबोट, गुन्चा टोल, राजथला टोल, सूर्यविनायक चोक, चालिसे गाऊँलगायतका टोलमा धिमे, भुस्या, धाँ बाजाको साथमा परिक्रमा गरिएको थियो । जात्रामा स्थानीय ढल्चा भजन, दाफा खलः तथा गुठीयारहरुको सहभागिता रहेको थियो ।


“यो जात्रा परापुर्वकालदेखी चल्दै आएको जात्रा हो । तर बीचमा रोकिएको दशकौं भयो । गतवर्षदेखी पुनः सञ्चालन गर्ने तयारी भएपनि कोरोनाका कारण सम्भव भएन । यसवर्ष जात्रा सुचारु गर्न सफल भएका छौं,” जात्रा व्यवस्थापन समिति संयोजक विष्णुप्रसाद राजथलाले भन्नुभयो । उहाँले जात्रालाई प्रत्येक वर्ष निरन्तरता दिईने बताउनुभयो ।
काठमाण्डौं उपत्यकाका चार प्रमुख विनायक मध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्दछन । यो गणेशको मुख्य मुर्तीलाई वर्षको दुई पटक मात्र सार्वजनिक गरी पुजा गर्ने प्रचलन रहेको राजथलाले बताउनुभयो । उहाँका अनुसार गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने यो गणेशको मुर्तीलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा बैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ बैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पुजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।


“जात्रा करिव करिव लोप हुने अवस्थामा पुगेकोले यसको संरक्षण गर्नका लागि पुनः जीवन्त बनाएका छौं’, सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापामगरले भन्नुभयो ।
सूर्यविनायक मन्दिर सूर्यविनायक नगरपालिकाको वडा नं. ८ र ६ को सिमानामा रहेको छ । जात्रा दुई वटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुथीहरु पनि दुई वटै वडाको क्षेत्रमा रहेको छ । त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुई वटै वडाले २÷२ लाख बजेट विनियोजन गरेको अध्यक्ष थापाले बताउनुभयो ।
स्थानीय वडाबाट बजेट व्यवस्थापनसँगै परम्परादेखि चल्दै आएको जात्रालाई निरन्तरता दिन सहज भएको संयोजक राजथलाले बताउनुभयो ।