काबुल विमानस्थलमा विस्फोट, १३ अमेरिकीसहित ६० जनाको मृत्यु

एजेन्सी, भक्तपुर, भाद्र ११
अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएको बम विस्फोट भएको छ । सो विस्फोटमा ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । १ सय ६० जना घाइते भएका छन् ।
बिबिसीका अनुसार घटनामा हताहत हुनेको संख्या अझै बढ्न सक्ने छ । दुई ठूला विस्फोटका घटनामा चारजना अमेरिकी सैनिक सहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको जनाएको छ । घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आईएसआईएसको खुरासनले हमला गरेको जनाएको छ ।
पहिलो विस्फोट विमानस्थलको गेटमा भएको थियो । त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो । जहाँ बेलायती सैनिक बस्दै आएका थिए ।
पेन्टागनका अनुसार एयरपोर्ट बाहिर तीन सन्दिग्ध देखिएका थिए । यिनमा दुईजना आत्मघाती आक्रमणकारी थिए । अर्का व्यक्ति भने बन्दुक बोकेर आएका थिए । तालिबानले यसलाई आतंकवादी हमला भनेको छ । विस्फोटपछि एयरपोर्टमा लगातार गोली चलेको थियो । एक अधिकारीले यस घटनामा कयौँ अफगानी नागरिक मारिएको बताएका छन् ।
यसअघि तालिबानले अमेरिकालाई चेतावनी दिँदै ३१ अगस्टसम्म देश छाडिसक्न भनेको थियो । अमेरिकाले पनि तोकिएको समय सीमामा हट्ने बताएको थियो । तर ह्वाइट हाउसले ३१ अगस्टपछि पनि उद्धार अभियान जारी राख्ने बताएको थियो ।