कांग्रेसको क्रियाशिल विवाद समाधान

भक्तपुर, भाद्र ७
नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान भएको छ । विवाद समाधान गरी क्रियाशिल सदस्यताको अन्तिम नामावली तयार गर्न गठित उच्चस्तरिय समितिले आइतवार साँझ पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटर परामर्श गरेपछि सदस्यता वितरण सम्बन्धी विवाद समाधान भएको हो ।
कांग्रेसले विवाद समाधानका लागि पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा डा. मीनेन्द्र रिजाल र लेखक सदस्य रहेको समिति गठन गरेको थियो ।
समितिका सदस्य रमेश लेखकले सदस्यता छानबिनको कार्य लगभग पूरा भएको जानकारी दिनुभयो । समितिले प्रतिवेदनलाई अन्तिम रुप दिई पार्टी सभापति देउवालाई सोमवार साँझ बुझाईने जानकारी दिएको छ । अन्तिम केही प्राविधिक काम बाँकी रहेकाले त्यसलाई टुङ्गो लगाएर सोमबार प्रतिवेदन बुझाइने दाबी समितिका नेताको छ  ।
कांग्रेसमा बारा, सप्तरी, सर्लाही, धनुषा, रसुवा र सिन्धुपाल्चोक जिल्लाको विवाद मिलाउन बाँकी थियो । यसअघि बाँकी जिल्लाको विवाद समाधान भइसकेको छ । क्रियाशिल सदस्यता सम्बन्धी विवाद समाधान नहुँदा यसअघि निर्धारित कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित बन्दै आएको छ ।
कांग्रेसले आगामी भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडा अधिवेशन गर्ने कार्यतालिका प्रकाशन गरेको छ । पार्टीको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्धारण गरेको छ ।