नेकपा एमाले र जसपा विभाजन, नेता नेपाल र ठाकुरले नयाँ दल दर्ताको निवेदन दिए

भक्तपुर, भाद्र २
संसदको सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) औपचारिक रुपमा विभाजन भएको छ । सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दर्ता गराएसँगै नेकपा एमाले औपचारिक विभाजन भएको हो ।
नेपाल समूहले नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) प्रस्ताव गरेको छ भने निर्वाचन चिह्न खुल्ला किताव प्रस्ताव गरेको छ । दल दर्ताको निवेदन दिन नेता नेपाल दलबलसहित निर्वाचन आयोग पुग्नुभएको थियो । निर्वाचन आयोगले ऐन अनुसार केही दिनको अध्ययनपछि दल दर्ताको सूचना दिने जनाएको छ ।
सरकारले मंगलवार राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । सोही अनुसार राष्ट्रपति भण्डारीले दल विभाजनको लागि केन्द्रीय समिति वा संसदिय दलमा २० प्रतिशत संख्या पुर्याएर नयाँ दल दर्ता गर्न सकिने प्रावधानसहितको अध्यादेश आज (बुधवार) जारी गर्नुभएको थियो ।
अध्यादेश जारी भएलगत्तै नेता नेपाल समूह नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुग्नुभएको थियो । नेपाल समूहले हाललाई नेता नेपालको संयोजकत्व रहने गरी दल दर्ताको निवेदन दिएको हो ।


त्यसैगरी पार्टी एकिकरणदेखी मतभेद रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि विभाजन भएको छ । जसपाको आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएपछि दलविहिन भएका अर्को अध्यक्ष महन्थ ठाकुर समूहले पनि आजै निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवेदन दिएको हो ।
ठाकुर पक्षले नयाँ दलको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल प्रस्ताव गरेको छ । नयाँ पार्टीमा अध्यक्ष ठाकुर एकल अध्यक्ष रहने छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेता ठाकुरकै आग्रहमा दल विभाजन गर्न २० प्रतिशतको प्रावधान राखेको बताईएको छ । नेता ठाकुरसहितको टोलीले मंगलवार मन्त्रीपरिषद बैठक अघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट गरेका थिए ।