अध्यादेशको स्वागत गर्छौं – जसपा नेता कर्ण

काठमाण्डौं, भाद्र १
जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले राजनीतिक दल सम्बन्धी अध्यादेशको स्वागत गर्नुभएको छ । रिपोर्टर्स क्लवमा मंगलवार आयोजित कार्यक्रममा नेता कर्णले आफुहरु नयाँ दल दर्ता गर्ने तयारीमा रहेकाले अध्यादेशको स्वागत गर्ने बताउनुभएको हो ।
उहाँले आफुहरु उपेन्द्र यादवसँग मिलेर जान नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ दल दर्ता गर्ने तयारीमा रहेको खुलासा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसद् नभएको बेलामा अध्यादेश ल्याउने यो संविधान सम्मत् काम हो । संविधानले यो अधिकार दिएको छ । प्रत्येक पार्टीको अवस्था हेर्ने हो भने कहीँ धेरै, कहीँ थोरै भएपनि विग्रहको अवस्था देखिएको छ । म जुन पार्टीमा छु, यसमा पनि समस्या छन् । यो प्रश्न जबरजस्ती निर्वाचन आयोगले जन्माएको हो । हामी अहिले सर्वोच्च अदालत गएका छौं । निर्वाचन आयोगले उपेन्द्र यादवको पक्षलाई आधिकारिकता दियो । त्यो निर्णय कति ठिक छ वा छैन भन्ने कुरा म यहाँ चर्चा गर्दिन् । तर, निर्वाचन आयोगको निर्णय गलत छ भनेर हामी अदालत गएका छौं ।’
उहाँले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली जहाँसुकै भएपनि सरकारको यो प्रथम कर्तव्य हो, त्यसको उद्धार र राहत गर्ने दायित्व हो । असामान्य अवस्था उत्पन्न भयो भने सरकारले विशेष कदम चाल्नुपर्छ । अफगानिस्तानमा अहिलेको अवस्था असामान्य छ, यो कारणले विभिन्न मुलुकका नागरिक त्यहाँ बसिररहेका छन्, ती देशले आ–आफ्नो नागरिकलाई बचाउने र राहत दिने काम सुरु गरेका छन् । हाम्रो सरकारले पनि प्राथमिकता दिनुपर्छ ।’
उहाँले आजै एक सय भन्दा बढी नेपालीलाई उद्धार गरी ल्याएकोमा सरकारलाई धन्यवाद दिँदैं भन्नुभयो, ‘अफगानिस्तानमा अझै उद्धार गर्नुपर्ने नेपालीहरु धेरै बाँकी छन् । सरकारले तत्काल कुन अवस्थामा र कहाँ के छ ? दूतावासमार्फत पहिले तथ्यांक जारी गर्नुपर्छ । हाम्रो नागरिक कुन अवस्थामा छन् ? कहिलेसम्म रेस्क्यु हुन्छ भनेर तुरुन्तै जानकारी दिनुपर्छ । यो सरकारको दायित्व र कर्तव्यपनि हो ।’