अध्यादेश लोकतन्त्र र संविधानको मर्म विपरित – एमाले नेता तामाङ

काठमाण्डौं, भाद्र १
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विरोध जनाएका छन् । नेता तामाङले अध्यादेश लोकतन्त्र र संविधानको मर्म विपरित र नेकपा एमालेलाई विभाजन गर्ने उद्देश्यले ल्याएको भन्दै अध्यादेशको विरोध गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘नेपालको ईतिहासमा खासगरी लोकतन्त्रमा दल बलियो भयो भनेमात्रै लोकतन्त्र बलियो हुन्छ । आज लोकतन्त्रको नै अगुवाई गर्छु भन्ने दलले दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो । यो गलत हो । संसदको हत्या गर्यो भन्नेहरुले आज संसद्को अधिवेशन अन्त्य गरेर एमालेलाई विभाजन गर्ने उद्देश्यका साथ अध्यादेश आएको छ । एमालेले यो निर्णयको पूरा विरोध गर्छ । भत्र्सना गर्छ ।’
रिपोर्टर्स क्लब नेपालले मंगलवार आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले माधव नेपाल दल विभाजन गर्ने उद्देश्यले अघि बढेको र उहाँकै हिसावकितावमा अध्यादेश आएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘अफगानिस्तानमा फसेका नेपालीहरुको बारेमा सरकारको ध्यान छैन् । कोरोना संक्रमणको दोस्रो लहरको अन्त्य हुन सकेको छैन् । खोप आपूर्ति भएको छैन् । संसदमा त्यो विषयमा छलफल गर्नुपर्ने होला । तर, त्यो सम्बन्धी सरकारको कुनै ध्यान छैन । जम्माजम्मी यो सरकारको काम भनेको एमाले विभाजन गर्ने काममात्रै भयो । हाम्रै साथीहरु पनि हिसाबकिताब गरेर २० प्रतिशत भए त पार्टी फुटाउन संख्या पुग्छ होला भनेर लाग्नुभयो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा नेता तामाङले एमालेको सच्चा कार्यकर्ता हो भने कोही पनि एमाले विभाजनको पक्षमा नलाग्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशभरिका कोही पनि कार्यकर्ता पार्टी विभाजनको पक्षमा लाग्ने छैनन् । माधवकुमार नेपाल २० प्रतिशत संख्या बोकेर जानुहुन्छ भने पनि कार्यकर्ता र मतदातामा जाँदा उहाँहरु जिरोमा परिणत हुनुहुनेछ । कोही पनि टुटफुट र विभाजनको पक्षमा नलागौं ।’
उहाँले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ईतिहास नै टुटफुटको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले २०५८ सालमा आफ्नो भविष्य नदेखेपछि कांग्रेस विभाजन गर्नुभयो । सांसदहरुको किनबेच गर्ने काम गर्नुभयो । संसदीय व्यवस्थालाई बद्नाम गर्नुभयो । देउवा सभापति रहुञ्जेलसम्म कांग्रेस बद्नाम हुनेछ ।’
उहाँले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सरकारले जतिसक्दो चाँडो उद्धार गर्नुपर्ने माग राख्दै उहाँले भन्नुभयो, ‘अफगानिस्तानमा रहेका नेपालीहरुलाई फर्काउन तदारुकता देखाओस । कोही पनि नेपाली जनताको त्यहाँ ज्यान नजाओस । नेपाल सरकारको तर्फबाट छिटोभन्दा छिटो उद्धार गरियोस । प्लेन पठाओस ।’