पार्टीको महाधिवेशन अब सर्दैन, तोकिएको मितिमा हुन्छ – नेता लेखक

काठमाडौं, साउन ३१
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको १४औं महाधिवेशन नयाँ सार्वजनिक कार्यतालिका अनुसार नै बताउनुभएको छ । रिपोर्टर्स क्लवले काठमाण्डौंमा आइतवार आयोजित साझात्कार कार्यक्रममा नेता लेखकले कोभिडको कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बने पनि अब कुनै पनि हालतमा नयाँ कार्यतालिका अनुसार महाधिवेशन हुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको महाधिवेशनको नयाँ मिति हामीले सर्वसम्मतिको आधारमा घोषणा गरेका छौं, अब घोषित मितिमै महाधिवेशन हुन्छ ।’ भदौ १८ गते वडा अधिवेशन सुरु हुन्छ, एवम् रितले अब सबै अधिवेशन हुँदै जान्छन्, मंसिर ९, १०, ११, १२ र १३ गते पार्टीको केन्द्रीय महाधिवेशन सम्पन्न गर्छौं ।’
उहाँले सार्वजनिक गरिएको महाधिवेशनको नयाँ कार्यतालिका संविधानसम्मत् नै रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो कार्यताकिाले संविधानको मर्म र भावनालाई समेटेको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता लेखकले क्रियाशिल सदस्यताको विवाद अब बाँकी नरहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले ९७÷९८ प्रतिशत काम सम्पन्न गरेर दिएका छौं । अधिकांश काम सम्पन्न गरेका छौं । छोटो समयमा हामीले काम सम्पन्न गरेर केन्द्रीय नेतृत्वलाई प्रतिवेदन बुझाएका छौं । ७५ जिल्लाको क्रियाशिल सदस्य त प्रिन्ट भैसकेको छ । तर, केही विवाद बाँकी छन् । हामीले दिएको प्रतिवेदन केन्द्रीय समितिले हिजो स्विकार गरिसकेको छ ।’


उहाँले क्रियाशिल सदस्यताको बाँकी काम टुंग्याउन केन्द्रीय समितिले कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र आफु रहेको समिति गठन गरेको बताउनुभयो । उहाँले बाँकी काम भदौ २ गतेभित्र सम्पन्न गर्ने जानकारी दिनुभयो । नेता लेखकले अब क्रियाशिल सदस्यताको विवादको कारण पार्टीको महाधिवेशन कुनैपनि हालतमा नरोकिने स्पष्ट पार्नुभयो ।
उहाँले सरकार बिस्तारको सम्बन्धमा गठबन्धनको सरकार भएकोले पूर्णता दिने सवालमा केही ढिलाई भएको र यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले अबको चार दिनभित्र सरकारले पूर्णता पाउने दावी समेत गर्नुभयो । उहाँले सरकारमा नेकपा (एमाले) को माधव नेपाल समूह आउँछ कि आउँदैन भन्ने कुरा यकिन नभएको बताउनुभयो ।
सरकारलाई सही तवरले सञ्चालन गराउनको लागि गठबन्धनको तर्फबाट साझा न्यूनतम कार्यक्रम पनि ल्याई सकिएको बताउँदैं उहाँले भन्नुभयो, ‘साझा न्यूनतम कार्यक्रम आएपछि सरकार विस्तार गर्ने कुरा थियो, अहिलेसम्म विस्तार हुन सकेन, यसमा ढिलाई भयो, यो कुरा म स्विकार गर्छु । तर, अब ढिलाई गर्नुहुँदैन् । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ ।’
उहाँले सरकारको पहिलो प्राथमिकता भनेको नै कोभिडको महामारीबाट मुलुक र जनतालाई जोगाउनु भएकोले सोहीअनुसार आफूहरुले कार्यक्रम ल्याएको बताउनुभयो ।
नेता लेखकले कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चाको अहिलेको गठबन्धन लामो समयसम्म जाने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले लामो समयसम्म सहकार्य गर्ने भनेर नै यो गठबन्धन बनाएका हौं । मलाई लाग्छ, यो गठबन्धनले लामो समयसम्म सहकार्य गरेर नै अघि बढ्छ ।’
उहाँले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल नेपाल ल्याउनको लागि सरकारले विशेष पहल गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारलाई मेरो विशेष आग्रह छ कि अफगानिस्तानमा अप्ठ्यारोमा रहेका नेपालीहरुलाई सकुशुल घर फिर्ता गर्नुपर्छ । उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याईनुपर्छ । सरकार खासगरी प्रधानमन्त्रीज्यू र मन्त्रीहरुले पनि यो विषयमा गम्भीर भएर काम अघि बढाउनुभएको होला, सरकार गम्भीर भएर तत्काल पहलकदमी लिओस् ।’