भक्तपुरका पत्रकारहरुले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाए

भक्तपुर, साउन २१
भक्तपुरका पत्रकारहरुले आज (बिहिवार) कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन । गत असार १० गते पहिलो मात्रा लगाएका पत्रकारहरुले आज दोस्रो मात्रा लगाएका हुन । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको पहलमा स्वास्थ्य कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीको सहकार्यमा पत्रकारहरुले खोप लगाएको महासंघ जिल्ला सचिव संजीप घिमिरेले बताउनुभयो ।


खोप कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले पत्रकारहरु कोरोना महामारीका बेला पनि अग्रपंक्तिमा रहेर जनतालाई सू–सूचित गर्ने कार्यमा अहोरात्र खटिनु पर्ने भएकाले सरकारी नीति अनुसार नै खोप लगाउने विषेश व्यवस्था गरेको बताउनुभयो ।
स्वास्थ्य चौकीका अध्यक्ष एवम् सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष राजकुमार जोशीले समाजको आँखाको रुपमा रहेका पत्रकारहरुलाई आफ्नो वडामा कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न पाउँदा गर्व महशुस भएको बताउँदैं यो अवसरको लागि महासंघ र स्वास्थ्य कार्यालयलाई धन्यवाद दिनुभयो ।


नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जीवनलाई जोखिममा राखेर जनतालाई सूचना प्रवाह गर्न महामारीको कठिन परिस्थितीमा पनि कार्यक्षेत्रमा खटिनु पर्ने भएकाले पत्रकारहरुलाई कोरोना संक्रमणबाट जोगाउन खोपका लागि पहल गरिएको बताउनुभयो ।
उहाँले कोरोनाको दोस्रो लहरमा भक्तपुरका १ दर्जन पत्रकार कोभिड संक्रमित भएको बताउँदैं केहीलाई गम्भीर असर गरेपछि भेन्टिलेटरमा राखेर उपचार गराउनु परेको जानकारी दिनुभयो ।
उहाँले महासंघको पहलमा साथ सहयोग गर्ने स्वास्थ्य कार्यालय भक्तपुर, कटुञ्जे स्वास्थ्य चौकी र वडा कार्यालय कटुञ्जेलाई धन्यवाद दिनुभयो ।
खोप लगाएपछि प्रतिक्रिया दिँदैं पत्रकार महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष एवं टेलिभिजनका पत्रकार दिलिप थापामगरले कोरोना महामारीमा शाखाले प्रशंसनीय कार्य गरेको बताउनुभयो । त्यसैगरी भक्तपुर शाखाकी निवर्तमान महिला उपाध्यक्ष एवं गोरखापत्रकी फोटो पत्रकार कविता थापाले सधै फिल्डमा खट्नुपर्ने पत्रकारलाई खोपले आत्मबल बढाएको बताउनुभयो ।


खोप कार्यक्रममा महासंघ भक्तपुरका संस्थापक सभापति रमेश खड्का, पुर्व अध्यक्ष विकल प्रसाद श्रेष्ठ, पुर्वअध्यक्ष एवम् महासंघ उपत्यका प्रदेश समितिका सचिव अमर भुजु, शाखाका उपाध्यक्ष सुन्दर शिल्पकार, सहसचिव हेमराज ढकाल, उपत्यका समितिका सदस्य रत्न श्रेष्ठलगायतका पत्रकारहरुको सक्रिय सहभागिता रहेको थियो ।
खोप कार्यक्रमका लागि स्वास्थ्य चौकीका सिनियर अहेव कृष्णप्रसाद अधिकारी, सिनियर अनमी निरिक्षक सम्झना न्यौपाने, डिस्पेन्सरी सम्झना कसपाल, स्वयम सेवक सृजना गुमाजुले आवश्यक सहयोग गर्नुभएको थियो ।